सदरमुकाम बेनीदेखि १० किमी उत्तर रघुगंगा गाउँपालिका-१ स्थित बेगखोलामा आएको बाढीले बेनी-जोमसोम सडक बगाएपछि सोझो यातायात अवरुद्ध छ ।
सोमबार राति भीषण वर्षापछि आएको बाढीले बेगखोलामा रहेको डाइभर्सन समेत बगाएपछि १० घन्टा देखि यातायात अवरुद्ध छ । सडक बन्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । मुक्तिनाथ भ्रमणबाट फर्केका म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी पनि बाढीले यातायात अवरुद्ध भएपछि बेगखोलामा अड्केका छन् । प्रजिअ अधिकारीका अनुसार अलपत्र परेका यात्रु, नेपाली सेना र सडक विभागको एउटा डोजरले बाढीलाई तर्काएर सडक खोल्ने प्रयास गरेका छन् ।
‘सडक खोल्ने प्रयास पनि सुरु भएकोले मंगलबार दिउँसो २ बजेसम्म सडक खुल्ने अनुमान गरेका छौं,’ बाढीले अवरुद्ध सडकमा अलपत्र परेका प्रजिअ अधिकारीले भने, ‘ठाडो खहरे खोलामा बाढीको सतह घट्नेक्रममा रहेको छ ।’
त्यसैगरी सोमबार साँझ नै बेगखोला तर्ने प्रयास गर्दा ध १ ज ४०५ नम्बरको ट्याक्सी करिव ५० मिटर बगाएर तल कालीगण्डकी नदीमा मिसाएको थियो । तातोपानीबाट बेनी तर्फ जाँदै गरेको ट्याक्सी खोलामा फसेपछि यात्रु र ड्राईभर ओर्लेर धकेल्ने प्रयास गर्दा खोलामा पानीको सतह बढ्दै आएर ट्याक्सी नै बगाएको थियो ।
गत वर्ष भदौ दोस्रो साता आएको पहिरोले बेगखोलामा रहेका १५ वटा घरसमेत मोटरपुल, झोलुङ्गेपुल बगाएको थियो । पहिरो र बाढीले मोटरपुल बगाएपछि पानी पर्ने वित्तिकै बेगखोलामा बाढी आउने र सडक अवरुद्ध पार्ने गरेको छ । कान्तिपुरमा समाचार छ ।