नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट टुङ्गो लगाएका छन् ।
क्षेत्र बाँडफाँट गर्न बनेको दुई दलको कार्यदलले ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको हो । कार्यदलको निर्णयलाई पार्टी एकता संयोजन समितिले समेत टुंगो लगाएको छ ।
दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।
कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक-१ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ ।
गोरखाका दुवै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट-१ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ-१ एमाले र २ माओवादीले लिएको छ ।
दुई दलबीच भएको सहमति अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक-२, नुवाकोट-२, धादिङ, मनाङ, मुस्ताङ र म्याग्दी एमालेको भागमा परेको छ ।
यस्तै, बाग्लुङ-१, डोल्पा, मुगु, बझाङ, बैतडी, दार्चुला पनि एमालेको भागमा परेको छ ।
माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक-१, नुवाकोट-१, लमजुङ, गोरखाका दुवै क्षेत्र, बाग्लुङ-२, रोल्पा, रुकुम पूर्व र पश्चिम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोट परेका छन् ।
उम्मेद्वारी टुंगिएका जिल्लाका उम्मेद्वारलाई पत्र दिने तयारी भइरहेको माओवादी केन्द्रले जनाएको छ । इमेजखबरमा समाचार छ ।