सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका-१ तिलाठीका एकै परिवारका पाँचजनाको शनिबार बस दुर्घटनामा परी मृत्यु भएको छ ।
दीपावली र छठपर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सन्चालन हुन्छ भनेर घरबाट काठमाडौं हिँडेका सन्जीतकुमार झासहित परिवारका पाँचजनाको शनिबार बिहान धादिङको गजुरी गाउँपालिका-५ स्थित त्रिशूली नदीमा बस खसेपछि उनीहरुको सो दुर्घटनामा परी मृत्यु भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चन्दन यादवले बताए ।
राष्ट्रिय वाणिज्य बैंक, गौशाला शाखा काठमाडौंमा प्रबन्धककारूपमा कार्यरत् झासहित उनकी पत्नी सिमीकुमारी झा, १० वर्षीय छोरा अभिनव, चार वर्षीय छोरा प्रतीक र भाइ अनजीत तथा साली पूजा झा र सालो बिटु झा एउटै बसमा चढेका थिए ।
सन्जीतका परिवारका पाँचजना र साला र सालीको पनि मृत्यु भएको हो ।
उनीहरू राजविराजबाट छुटेको ना६ख १४६७ नम्बरको सन्देश बसमा चढेर जाँदैगर्दा शनिबार बिहान त्रिशूलीमा खसेपछि बसमा सवार सन्जीत, उनका भाइ, पत्नी, दुई छोरा र साला–साली सबैको मृत्यु भएको तिलाठीवासीले जनाएका छन् ।
अहिले सिंगो सप्तरी जिल्ला शोकमग्न बनेको छ । रासस