कास्कीका वाम गठबन्धनका उम्मेदवारले मुलुकको समृद्धि र विकासका लागि आफूहरु चुनावमा उत्रिएको बताएका छन् ।
शुक्रबार प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तितर्फ देशलाई लैजान वामपन्थी नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगराज अधिकारीले जलविद्युत्, कृषि, पर्यटन र खेलकुदमा जोड दिँदै दुई तिहाइ बहुमत ल्याउनका लागि वाम गठबन्धन गरिएको बताए ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले मुलुकमा स्थिरतासहित आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
यस्तै, कास्की–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीले लोकतन्त्रसहितको समाजवाद आवश्यक रहेको बताए ।
संविधानसभा निर्वाचन २०६४ र ७० मा विजयी अधिकारी व्यवस्थापिका-संसद विकास समितिका सभापति पनि हुन् ।
कास्की–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगत विश्वकर्माले समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन वाम गठबन्धन आएको बताए ।
कास्कीमा प्रतिनिसभामा सदस्यमा वाम गठबन्धनबाट एमालेकामात्रै उम्मेदवार छन् । – इमेजखबरमा समाचार छ ।