अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको प्रमुख निर्वाचन आयुक्तको टिप्पणी



प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाताकाबीचमा देखापरेको अदृष्य आर्थिक लेनदेनको विकृति आगामी निर्वाचनका लागि गम्भीर चुनौती भएको टिप्पणी गरेका छन् ।
डा. यादवले मतदातालाई रिझाउन गरिने आर्थिक चलखेलले निर्वाचन स्वच्छ हुन नसक्नेमात्र नभइ लोकतन्त्रको सौन्दर्य नै धरापमा पर्ने चिन्ता व्यक्त गरे ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा आचारसंहितासम्बन्धमा बिहीबार निर्वाचन आयोगले नेपाल सरकारका मुख्यसचिव र सचिवहरुसँग गरेको छलफलमा प्रमुख आयुक्त डा. यादवले आर्थिक र मानसिक विपन्नताले लेनदेनको संस्कृति देखापरेको भन्दै यसलाई रोक्नु चुनौती भएको टिप्पणी गरे ।
उनले अबका निर्वाचनमा ‘पोलिटिकल फाइनान्स’को व्यवस्था अनिवार्य भएको धारणा राखे ।
डा. यादवले चुनावमा खटिने कर्मचारीको निष्पक्षता पनि निर्वाचनका लागि चुनौतीपूर्ण भएको टिप्पणी गरे ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले समयमै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु मुलुकको एकमात्र एजेन्डा भएको भन्दै निर्वाचन सफल पार्न इमान्दारीपूर्वक लाग्न कर्मचारीलाई आग्रह गरे ।
कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मीले निर्वाचन सफल पार्न आवश्यक पर्ने स्रोत–साधन र व्यवस्थापकीय कार्यप्रति विश्वस्त रहन निर्वाचन आयोगलाई आग्रह गरे ।
आयोगका आयुक्त सुधीरकुमार शाहले आचारसंहिता नैतिकता, सदाचार र प्रजातन्त्रको मूल्य–मान्यतासँग जोडिएको विषय भएकाले यो स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनसँग जोडिएको बताए ।
कार्यक्रममा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले निर्वाचनमा खटाइएका कर्मचारीले कार्यक्षेत्रमा जान अटेरी गरेको बताए ।
कर्मचारीले अटेरी गरेकै कारण निर्वाचनका लागि हिमाली जिल्लामा कर्मचारी खटाउन आयोगले पाँचपटक निर्णय सच्याउनुपरेको स्मरण गरे । इमेजखबरमा समाचार छ ।