सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालय शिक्षकले तलव नपाएको भन्दै पठनपाठन ठप्प


सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालयको पठनपाठन ठप्प भएको छ ।
कौडेना, बसबरिया र पर्सा गाउँपालिकाभित्रका विद्यालयका शिक्षकले तलव नपाएको भन्दै धर्ना दिन सदरमुकाम मलंगवा गएपछि पठनपाठन ठप्प भएको हो ।
सरकारले पछिल्लो पटक थप गरेका यी तीन गाउँपालिकामा पर्ने विद्यालयका शिक्षकले साउनदेखिको तलव पाउन सकेका छैनन् ।
जिल्ला शिक्षा कार्यालयले स्थानीय तहमा समयमै विवरण उपलब्ध नगराउँदा आफूहरु तलब पाउनबाट बञ्चित भएको भन्दै शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
आजदेखि तीनवटै स्थानीय तहमा धर्ना दिने कार्यक्रम राखेको आन्दोलित शिक्षकहरुको संघर्ष समितिका संयोजक रामबाबु साहले जानकारी दिए ।
तलब माग गर्दै हातमा काटो पट्टी बाँधेर अध्यापन गराउने, स्थानीय प्रशासनको ध्यानाकर्षण गराउने जस्ता कार्यक्रम गर्दा बेवास्ता गरिएको भन्दै शिक्षकहरु पठनपाठन नै बन्द गरेर आन्दोलनमा होमिएका हुन् ।
महिनौंसम्म तलब नपाउँदा घर व्यवहार धान्न मुस्किल पर्न थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको शिक्षकहरुले बताएका छन् । इमेजखबरमा समाचार छ ।