जाजरकोटमा भिरबाट लडेर आमा-छोराको मृत्यु

जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नम्बर ३ स्थित आफ्नो घर आउँदै गरेका आमा-छोरोको बिहीबार बिहान मृत्यु भएको छ ।
जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नम्बर ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उनका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुकामात्र यो बाटो हिँड्ने गरिन्छ भने दिउँसो हावाहुरीले हिँड्न मिल्दैन । लेकमा बाटो निर्माण नहुँदा वर्षेनी यस ठाउँमा अकालमै मानिसको ज्यान जाने गरेको छ । रासस