बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेका गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक तथा उम्मेदवारका घरमा बम विस्फोटका घटना बढेपछि परिषद् बैठक बसेको हो ।
बैठकले शान्ति सुरक्षालाई चुस्त–दुरुस्त बनाउन चारओटै सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ ।
बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति थियो ।
बैठकमा चारओटै सुरक्षा निकायका प्रमुखले पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको सुरक्षा रणनीतिका विषयमा जानकारी गराएको परिषद् स्रोतले जनाएको छ । रासस