दाङमा विस्फोट परी मृत्यु भएका म्यादी प्रहरी चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राहत

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् । 
तुलसीपुर उपमहनगरपालिका-१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । 
बीमावापतको १५ लाख रुपैयाँ र राज्यले राहतस्वरुप उपलब्ध गराउने १० लाख रुपैयाँसमेत गरी २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उनले बताए । उनले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिने बताए ।
त्यस्तै संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए ।
चौधरी परिवारलाई ५ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरिया खर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद २५ हजार गरी ५० हजार प्रदान गरिएको थियो । 
त्यसैगरी श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गरे । 
बम विष्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको आज अन्त्यष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो । ईकान्तिपुरमा समचार छ ।