प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न वाम गठबन्धन गरिएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसले डोटीले शुक्रबार बोगटानमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट अधिनायकवाद लाद्न वाम गठबन्धन बनेको आरोप लगाए ।
कम्युनिष्ट शासन राणा शासनभन्दा पनि भयानक हुने उनको भनाइ थियो ।
मुलुकमा कम्युनिष्ट शासन आए जनताले फेरि अर्को संघर्ष गर्नुपर्ने भन्दै उनले संघर्ष गर्ने नपर्ने व्यवस्था स्थापनाका लागि कांग्रेसले जित्नुपर्ने जिकिर गरे ।
निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो ।
समग्र सुदूरपश्चिमको विकास आफ्नो काँधमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले यहाँका सबै विकास योजनाहरुको निर्माण कांग्रेसको अबको लक्ष्य रहेको बताए ।
उनले शुक्रबारै डोटीको सायल गाउँपालिकामा आयोजित चुनावीसभालाईसमेत सम्बोधन गरे । इमेजखबरमा समाचार छ ।