एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व आलोपालो गर्ने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको खुलासा गरेका छन् ।
शुक्रबार प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको दाबी गरे ।
‘सम्भवतः भोलि (शनिबार) एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौं । ओली र मबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो’-उनले भने ।
अध्यक्ष दाहालले शनिबार नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा निर्णय गरिने बताए ।
शुक्रबार बालुवाटारमा बसेको प्रमुख पाँच दलबीचको बैठकमा कुनै निश्कर्ष ननिस्किएको जानकारी दिँदै दाहालले अन्तिम टुंगोमा पुग्न सबै दल लचिलो बन्नुपर्ने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि पाँच दलको बैठक बस्नु संयोगमात्रै भएको भन्दै उनले बैठक बस्ने कुरा यसअघि नै तय भएको स्पस्ट पारे ।
अध्यक्ष दाहाल शनिबार बुटवलमा हुने एक कार्यक्रममा सहभागी हुन शुक्रबारै चितवन आइपुगेका हुन् । इमेजखबरमा समाचार छ ।