स्थानीय प्रशासनले कालिकोटमा आज पनि कफ्र्यु जारी राखेको छ ।
हिजो दिउँसो ३ बजेदेखि लगाइएको कफ्र्यु आज बिहान दुई घण्टा हटाएर पुनः लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाएको थियो ।
जिल्ला प्रशासन कार्यालयले हिजो जिल्लाको स्थित तनावग्रस्त भएपछि कफ्र्यू लगाएको थियो । शुक्रबार दिउँसो म्यादी प्रहरी विवेक ऐडीलाई प्रहरीले गोली हानी हत्या गरेको विषयलाई लिएर तीन दिनदेखि आन्दोलन चर्किएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा रास्कोट नगरपालिका २ घर भएका मृतक विवेक ऐडीमाथि गोली प्रहार गरी हत्या गर्ने दोषीलाई छानबिन गरी कडा कारबाही गर्ने निर्णय भएको छ ।
त्यस्तै म्यादी प्रहरीको विमाअनुसार १५ लाख रुपैयाँ मृतकका आफन्तले पाउने क्षेत्रीय प्रशासक सुरेशमान प्रधानले बताए ।
आन्दोलनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने र गोली प्रहार गरी हत्या भएको घटनाको गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा छानबिन समिति गठन गरी दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गर्ने निर्णय भएको उनले बताए । इमेजखबरमा समाचार छ ।