दाङको तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसँगै यहाँका स्थानीय हर्षित भएका छन् ।
पातु खोलामा पुल नहुँदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् ।
जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर-३, ७ र ९ नं वडा जोड्ने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ ।
‘वर्षौंको पुलको सपना आज पूरा भएको छ, तुलसीपुर बजारसम्म जान हामीलाई वर्षात्को समयमा हम्मेहम्मे हुने गरेको थियो अब भने सजिलै बजारसम्म जान सकिने भयो,’ स्थानीय रेश्मी वलीले भनिन् ।
‘केटाकेटीलाई विद्यालय पुर्याउन त्यतिकै समस्या थियो,’ वलीले भनिन्, ‘अब भने ढुक्कका साथ केटाकेटी पढ्न जानपाउने छन्, कतिले त खोलामा ज्यानै जोखिममा पारेर खोला तर्नुपर्ने समस्या थियो ।’
उनीजस्तै वृद्धा पवित्रा विकले पनि पुल निर्माणसँगै आफूहरुलाई सहजता हुनुका साथै आज खुशी लागेको बताइन् ।
‘वृद्धवृद्धालाई भत्ता लिन तुलसीपुर जान समस्या थियो, बर्खा लाग्यो भने की तलबाट पुल तरेर बजार जानुपर्थ्यो, होइन भने हिउँदनै पर्खनुपर्ने समस्या थियो ।’
त्यसैगरी, कक्षा १ मा अध्ययन गर्ने पार्वती पुनले पनि पुल बनेसँगै आफूहरुलाई सहज भएको बताइन् । उनले अब सहजै विद्यालयसम्म जान पाउने भएकोमा आफूहरु खुशी भएको बताइन् ।
उनीहरु जस्तै यहाँका पातुखोला आसपास, डाँडा खुटी, हरेवास, नाउला, बल्ले, दमारगाउँ, चिसापानीका करिब एक हजारभन्दा बढी घरधुरीलाई सहजता भएको स्थानीय हुमबहादुर विकले बताए ।
सेवा प्रतिष्ठान नेपालको रु ४५ लाख, जिल्ला समन्वय समितिको रु दुई लाख आठ हजार, समुदायको रु एक लाख बराबर श्रमदान र नगरपालिकाको रु एक लाख गरी झण्डै रु ५० लाख १७ हजारमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर विकले बताए । पुल ७० मिटर लामो रहेको छ । (रासस)