आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध अकुत सम्पत्ति आर्जनमा अर्को मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वाभाविक देखिएको भन्दै आयोगले सोमबार बिगो असुलउपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।
उनले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् वि.सं. २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ ।
आयोगकाअनुसार सोही अवधिमा चल–अचल सम्पत्ति एवं सेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार बिगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफत् गर्ने माग–दाबीसहित मुद्दा दायर गरिएको हो । रासस