जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन बलिदान गर्ने महान् शहिदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ।
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा वि.सं. २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यहीँ माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइरहेको छ । वि.सं. २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा कार्यक्रम गरिदै आएको छ ।
वि.सं. १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई (१० माघ)काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा (१३ माघ) र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई (१५ माघ) शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो । भोलि माघ १६ गते सहिद दिवसका दिन बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरीे सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।
नेपालमा पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद – शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ । पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक–पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन ।
०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ सहिदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरिएको थियो ।