वीरेन्द्र केसी कान्तिपुर
लामाताल, अर्घाखाँची । शीतगंगा ७ (साविक जलुके ४) लामातालमा एक वर्षभित्र उज्यालो पुर्याउने भन्दै पोल गाडेको १० वर्ष भयो । सदरमुकाम देखि झन्डै ५० किमि दक्षिणमा पर्ने यो गाउँमा अझै बिजुली बल्ने सुरसार छैन ।
केही पोल ढलिसके । ती पोलमा तार पनि टाँगिएको छैन । बिजुली वितरणका लागि एउटा ट्रान्सफर्मर जडान गरिएको थियो । जीर्ण भइसकेको ट्रान्सफर्मरले खिज्याउन थालेको उपभोक्ताको भनाइ छ । ट्रान्सफर्मरबाट फुक्लिएका नटबोल्ट भुइँमा छरिएका छन् ।
छिमेकी प्यूठानमा बिजुली झलमल छ । जंगलबीचको समथर बस्ती लामातालमा भने अन्धकार छ । पैसा हुनेले घरमा सोलार बत्ती जोडेका छन् । गरिब परिवारले टुकीमै गुजारा चलाउँछन् । ‘१ सय ७४ घरधुरी बसोबास रहेको यो गाउँमा बिजुली बल्ने कुनै टुंगो छैन,’ स्थानीय जितबहादुर पुलामीले भने, ‘बेकारमा लाखौं रकम खर्च मात्रै भएको छ ।’
उक्त बस्ती राम्रो भए पनि अन्धकार नै भएको स्थानीय तुल्सी राउतले बताए । ‘हामीहरू विद्युत् कार्यालयमा पटक–पटक धायौं,’ राउतले थपे, ‘जाँदा आश्वासन मात्रै दिन्छन् तर काम कहिल्यै भएन ।’ जति पनि श्रमदान गर्न तयार स्थानीयले बिजुली ल्याउन भनेर रकम पनि उठाएका छन् ।
राप्ती पारिको प्यूठान झलमल हुँदा अर्घाखाँचीको लामातालमा टुकीको भरमा बस्नुपरेको स्थानीय दिलमाया गाहाको गुनासो छ । ‘बस्ती पातलो र घर पनि छरिएर रहेकाले विद्युत् विस्तार गर्न बढी समस्या छ,’ विद्युत् प्राधिकरण कार्यालय अर्घाखाँची प्रमुख वीरमान रास्कोटी भन्छन्, ‘प्रथमत: बजेट छैन, लामो दूरीमा जंगलका रूख काटेर तार तान्नुपर्छ, वनले रूख काट्न नदिँदा विद्युत् विस्तार गर्न सकिएन ।’ वन कार्यालयले सहमति दिएमा एक वर्षभित्रै विद्युत् बाल्न सकिने दाबी उनको छ । यहाँ सालका रूख बढी छन् । जिल्ला वन अधिकृत दीपक ज्ञवालीले अहिलेसम्म प्राधिकरणले समस्याबारे कुनै जानकारी नगराएको बताए । स्थानीयले भने प्राधिकरणले विद्युत् विस्तारमा अनेक बहाना बनाएर आलटाल गर्ने गरेको गुनासो पोख्छन् ।

वडाध्यक्ष मोहन पन्थीले वडाका ७ सय १५ घरधुरीमध्ये २० घरमा मात्रै बिजुली पुगेको बताए । लामातालसहित धेरै छरिएर रहेका बस्तीमा बिजुली पुग्न बाँकी छ । वडाबाट १७ लाख बजेट विनियोजन भएको छ । ‘यतिले सबै ठाउँमा विस्तार गर्न सम्भव छैन । जति सकिन्छ, विस्तार गर्छौं,’ उनले भने । वडाका सबै घरमा बिजुली पुग्न कम्तीमा ५ करोड रुपैयाँ बजेट लाग्ने उनले अनुमान गरे । नगरपालिकाले पनि विद्युतका लागि बजेट नदिएर उपेक्षा गरेको पन्थीले बताए ।
फाइल तस्बिरहरु