नवलपरासीमा पहाडी क्षेत्रभन्दा तराईमा मुद्दा दिनेको संख्या बढी

पहाडीमा भन्दा तराई क्षेत्रबाट मुद्दा दर्ता गराउनेको संख्या बढी
नवलपरासी दुई जिल्लामा विभाजन हुनुपूर्वको तथ्यांकमा पहाडी क्षेत्रभन्दा तराईमा मुद्दा दिनेको संख्या बढी देखिएको हो ।
अहिले पनि उक्त संख्यामा कमी आउन सकेको छैन ।
तराई क्षेत्रमा स-साना विवादमा पनि अधिकांशले मेलमिलाप गर्न नखोज्दा मुद्दाको संख्या बढी भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ ।
पहाडी क्षेत्रबाट ३० प्रतिशत र तराई क्षेत्रबाट ७० प्रतिशतको हाराहारीमा मुद्दा दर्ता हुने गरेको पश्चिम नवलपरासी जिल्ला अदालतका श्रेस्तेदार खीमबहादुर कार्कीले बताउनुभयो ।
पूर्वी र पश्चिम जिल्ला विभाजन भएसँगै परासी क्षेत्रमा मुद्दाको चाप घटे पनि मुद्दा दर्ता गर्नेको संख्यामा भने कमी नआएको अदालतले जनाएको छ ।
परासी तराई क्षेत्रमा पर्दछ । यहाँ सबैभन्दा बढी अंशसम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यसैगरी यातना, क्षतिपूर्ति, बहाल भराउनेलगायतका मुद्दा पनि बढी पर्ने गरेका छन् ।
जिल्ला अदालतले गत आर्थिक वर्षमा ३ हजार ४ सय ४ वटा मुद्दाको सुनुवाई गर्दै १ हजार ८ सय ५४ वटाको फैसला गरेको जनाएको छ ।
पूर्वी नवलपरासीमा जिल्ला अदालत गठन भएपछि फछ्यौट हुन बाँकी ६ सय मुद्दा नवलपुर जिल्ला अदालतमा पठाइएको अदालतले जनाएको छ ।
जिल्ला विभाजन पूर्व नवलपरासीमा ५ वटा ईजलासबाट मुद्दा फैसला हुँदै आएका थिए ।
अहिले पूर्वी नवलपरासीको नवलपुरमा जिल्ला अदालत गठनसँगै दुई वटा इजलास कायम गरिएको छ ।
पश्चिम नवलपरासीमा भने ४ वटा इजलासमार्फत मुद्दाको सुनुवाई हुँदै आएको छ । इमेजखबरमा समाचार छ ।