सन्धिखर्कको जय सन्तोषी माँ चलचित्र मन्दिरसहित अर्घाखाँचीका अन्य फिल्म हल इतिहास बन्दै

वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची  ।  हंसपुरको रतनमारेको हलमा ०५५ सालमा फिल्म हेरेको सम्झना ६० वर्षीय मनसरा घर्तीलाई ताजै छ । कुन फिल्म हो नाम त्यति सम्झना छैन । राजेश हमाल नाचेको फिल्म हेरेको मनभरि छ । ‘पाँच रुपैयाँको टिकट काटेपछि हलभित्र पस्न पाइन्थ्यो,’ उनले भनिन्, ‘डेढ/दुई घण्टा हेर्न पाइन्थ्यो । अहिले त्यो हल भत्काएर घर बनेको छ ।’
कुनै बेला त्यस्तो थियो । फिल्म हल भरिभराउ र खचाखच हुन्थे । स्कुल र क्याम्पसबाट विद्यार्थी पढाइ छाडेरै (भागेर) फिल्म हेर्न हलमा झुम्मिन आइपुग्थे । अहिले समय फेरिएको छ । 
आठ/दस वर्षअघि भीडभाड हुने सन्धिखर्कको जय सन्तोषी माँ चलचित्र मन्दिरसहित अन्य चलचित्र घर (फिल्म हल) इतिहास बन्दै गएका छन् ।
गाउँमै सहज इन्टरनेटको पहुँच, मोबाइल, ल्यापटप र कम्प्युटरमै घरमै बसेर हेर्न मिल्ने भएका कारण फिल्म हल धाउने युवा पुस्ताको संख्या ह्वात्तै घटेको हो । कतिपय युटयुबमा झुम्मिने पनि छन् । हलमा कोही नआएपछि जय सन्तोषी माँ फिल्म हल बन्द नै भएको छ । कहिलेकाहीं ठूला कार्यक्रम गर्न र वृत्तचित्र देखाउन हल काम लागेको छ । पाका उमेरकालाई मनोरञ्जनका लागि अभाव खड्किएको छ ।
घरमा हेर्नु र हलमा जानु फरक छ । मेलापात र घरको काम सकेर वर्तिर–पर्तिर जेठानी, देउरानी, छोरीहरू, सासू, नन्द र साथीभाइ मिलेर जाँदारमाइलो हुन्थ्यो । ‘फिल्म हेर्न कहिले जाने भन्नेसल्लाह हुन्थ्यो,’ उनले भनिन्, ‘अघिल्लो दिनै भैंसीलाई घाँस काटेर कुन फिल्म लागेको होला, कसरीनाच्लान्, गुन्डा र हिरोको लडाइँ कस्तो होला भन्दै कुराकानी हुन्थे । हेरेर फर्केपछि फेरि तिनै हिरो, गुन्डा, गीत र नाचकै कुरा हुन्थे ।’ सबै भेटघाट भएर सँगै हिँड्न पाउँदा कम्ती रमाइलो हुन्थेन, उनले सम्झिइन् । फिल्मप्रतिको मोहले बेलाबेला उनलाई झस्काउँछ । अहिले पनि हलमा फिल्म हेर्न पाइने भए जाने थिएँ, घर्तीले भनिन् ।
यस्तै सम्झना बल्कोटकी झुमा पौडेललाई पनि तातै छ । ‘पिक्चर हेर्न मन लाग्छ,’ उनले भनिन्, ‘धेरै साथीभाई बसेर हेर्नु र एक्लै हेर्नुमा फरक छ । घरीघरी घरबाट भागेरै हेर्न हलमा जान्थें ।’ घरमा काम गरेर बोर लागेका बेला बूढासँग भागेरै पनि हेर्न जान्थें, हेरेर भ्याएपछि दिमाग फ्रेस हुन्थ्यो । गाउँमा खुलेको हल द्वन्द्वका बेला बन्द भयो । ‘२०५६ मा अन्तिम पटक हलमा फिल्म हेरेको सम्झना छ,’ उनले भनिन्, ‘बुहारीलाई भनेर ल्यापटपबाट हेर्छु ।’ नातेदार, बुहारी र छिमेकी मिलेर हलमा नपुग्दासम्म गफ गरिन्थ्यो, उनले भनिन्, ‘अब ती रमाइला दिन गए ।’
विहारका ५८ वर्षीय बाबुराम विकले तीन पटक सन्धिखर्कको सन्तोषीमा फिल्म हेरे । बालकनी र तल गरेर पाँच सय जना अट्छन् । फिल्म हेर्न जाने त्यतिबेला लहर नै चल्थ्यो । भीड धेरै भएर दिउँसो र रातिमाटिकट काट्थे । अहिले त हलमा सधैं ताला लागेको हुन्छ । ‘बूढाबूढीसँगै दुई पटक हेर्न गयौं,’ उनले भने, ‘रमाइला थिए ती दिन । इष्टमित्र र चिनेजानेकाहलमै धेरै भेटिन्थे ।’
पाकाको जस्तो अनुभव युवापुस्तालाई छैन । स्नातक तहमा अध्ययनरत पुष्कर क्षत्रीले युटयुबबाटै फिल्म हेर्ने गरेको बताए । ‘फिल्म हेर्न भनेरै हलमा गएको छैन,’ उनले भने, ‘मोबाइलमै हेर्छु ।’

अन्य समाचारहरु