एमाले अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । उनले अपरान्ह ४ बजे शपथ ग्रहण गरे लगत्तै सिहंदरबारमा पुगेर पद बहाली गरेका छन् । कान्तिपुरमा समाचार छ ।
मुलुकको नयाँ संविधान जारी भएपछि पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्री बनेका ओली त्यही संविधान कार्यान्वन गर्ने क्रममा भएको प्रथम चुनावपछि पुन: शासकीय सत्ताको बागडोर सम्हाल्न दोस्रो पटक सिंहदरबार छिरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराएकी छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा आज नियुक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित उनीहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराइन्।
मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक थिए। पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी थिए।
अब उनले संघीयताको कुशलतापूर्वक व्यवहारिक कार्यन्यवन गर्नुपर्ने जिम्मेवारी आएको छ। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओली विगतको भन्दा शक्तिशाली हैसियतमा छन्। उनी अहिले संसदमा सबै भन्दा ठूलो दलको नेता हुन्। बामगठवन्धन छिट्टै एउटै पार्टीमा रुपान्तरण समेत हुदैछ।
को हुन् ओली?
ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा सामान्य किसान परिवारमा जन्मेका हुन्। पिता मोहननाथ ओली र मधु ओलीका सन्तान उनकाेबाक्यकाल निकै दु:ख साथ बित्यो।
ओली सानै हुँदा उनकी आमाको निधन भयो। पहाडको गरिबीका कारण तेर्हथुमबाट ओली बालक हुँदै उनका बाबु झापा झरे। झापमा बाढीले भएको खेत पनि बगाएपछि ओली परिवारलाई खान लाउनै निकै ठूलो समस्या पर्यो। त्यही समयमा ओली रामनाथ दाहालको घरमा बस्न थाले।
दाहाल पञ्चायतकालमा सुखानीमा मारिएका नेता हुन्। स्वर्गीय दाहालको संगतमा हुर्केका ओलीले उनीबाटै विद्यालय अध्ययनमा सहयोग पाए। दाहाल भूमिगत रुपमा पञ्चायतविरुद्धको आन्दोलनमा लागि सकेका थिए। त्यही क्रममा ओली पनि राजनीतिमा आकर्षित भए। २०२३ बाट मार्क्सवादी अध्ययन दलमा संगठित भइ प्रशिक्षण पाएका ओली २०२८ सालमा पञ्चायतविरुद्ध सुरु भएको झापा विद्रोहका नेता हुन्। त्यही विद्रोहमा लागेवापत् तत्कालिन पञ्चायती प्रशासनबाट पक्राउ परे। २०३० सालबाट लगातार १४ वर्ष जेल जीवन बिताए। जेलमध्ये पनि कठोर यातना दिने काठमाडौको ‘गोलघर’मा उनलाई धेरै समय राखियो।
ओली २०४८ सालबाटै संसदमा निर्वाचित हुँदै आएका ओली हाल झापा ६ का सांसद हुन्। उनले २०६४ सालको संविधान सभा चुनाव बाहेक अन्य सबै जित्दै आएका छन्। ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भएका थिए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भए।
त्यसपछि उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने। पार्टी भित्र उनी साढे २ बर्ष अघि पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए। प्रधानमन्त्रीको पहिलो कार्यकाल नौ महिना मात्र सम्हाल पाएका ओलीले त्यही समयमा गरेका कामले पछिल्लो चुनावमा पार्टीलाई पहिलो हैसियतमा मात्र उकासेनन् माओवादीसंग मिलेर मुलुककै ठूलो कम्यूनिष्ट पार्टी निर्माण गर्ने रुपरेखा समेत कोरेका छन्।
पहिलो कार्याकालमा भारतीय नाकाबन्दीको डटेर समाना गरेका ओलीले एक देशमा मात्र रहेको परिनिर्भरता हटाउने गरी चीनसंग पारवाहन लगायतका सम्झौता गरे। विकासका योजनाहरुको सपनाको बाढी नै ल्याएका ओलीलाई अब दोस्रो कार्याकालमा तीनै सपनालाई व्यवहारमा कार्यान्वयन गर्ने चुनौति छ। कान्तिपुरमा समाचार छ ।