अर्घाखाँचीडट्कम संवाददाता
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदान लहरेधार स्थित पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण बीचमा गएर रोकिएको छ ।
पैयापाटा देखि लहरेधारा सम्म को बाटो मिन्दारा चरचने खोलामा पुगेर अपुरो भएको हो । स्थानिय जनताको श्रमदान बाहेक गाउँपालिकाबाट परेको एक लाख रुपैया बजेट सकिएपछि बाटो खन्ने काम बीचमा गएर रोकिएको लहरेधाराका पुस्कर बेल्बासेले अर्घाखाँचीडट्कमलाई बताए ।
बिजुली समेत बलेको लहरेधारामा खानेपानी तथा मोटर बाटो समस्या छ । यो मोटरबाटो जोडीएमा लहरेधाराका १० घरधुरी तथा ४० परिवार सदस्य लाभवन्दित हुन्छन् । साथै यहाँबाट भरतपुर जाने बाटो जोडीएमा गाउँको बिकास हुनेमा गाउँका बसिन्दा आशाबादी छन् ।
लहरेधारा गाउँका बासिन्दाले पाणिनी गाउँपालिकाका प्रमुख अचुत गौतम तथा ५ वार्ड मैदानका अध्यक्ष जिबलाल घिमिरेले आफुहरुको समस्या सुनुवाई नगरेको गुनासो गरेका छन् ।
लहरेधाराबासीले बजेट अभावका कारण बीचमा गएर रोकिएको बाटोलाई बजेट पारीदिन समेत आग्रह गरेका छन् । यस्तै लहरेधाराबासीले वर्षौ देखि भोग्दै आएको खानेपानी समस्याको लागि पनि पहल गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।