वीरेन्द्र केसी कान्तिपुर
वाङ्ला, अर्घाखाँची । दुर्गन्धित पोखरीलाई पूर्वाधारसहित निर्माण गरेपछि हेर्न आउनेको घुँइचो लागेको छ । पछिल्लो सयम यो धार्मिकस्थलका रूपमा प्रचार भइरहेको छ । यस क्षेत्र अहिले क्याम्पसका विद्यार्थी, स्थानीय बासिन्दा र अन्य जिल्लाबाट समेत आन्तरिक पर्यटक आउने गरेका छन् ।
सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा अध्ययनरत अस्मिता खनालले पोखरीबारे साथीले भनेपछि यहाँ आएको बताइन् । ‘कस्तो रहेछ हेर्न जाउँ भन्दै मन लोभियो,’ उनले भनिन्, ‘धेरै रमाइलो रहेछ ।’ मन्दिरभित्र शिवलिङ्ग, पार्वती, गणेश, हनुमान, बुद्ध, नाग, बसाह, त्रिशूल, १०८ पाला, पानस र जलधारी निर्माण गरिएको छ । यी संरचना उनलाई हेरेर मात्रै चित्त बुझेन र भित्रै छिरेर सेल्फी खिचिन् । सम्झना फोटो हो, फेसबुकमा राख्छु, धेरैले हेर्लान्, उनले भनिन् ।
सन्धिखर्क बजारदेखि करिब १ किमि पूर्वको म्यालपोखरी हेर्ने, दर्शन गर्ने र तस्बिर खिचाउने दैनिक ५०/६० जना हुन्छन् । यस्तो हेर्न लायक कसले बनायो ? वाङ्लावासी र नेपाली सेना मिलेर निर्माण गरेको पोखरीले सबैको मन खिच्न सफल भएको छ । ‘हामीलाई विकास चाहिन्छ । घर अगाडिको सामान्य कामलाई सरकारको मुख ताक्छौं, उनले भनिन्, ‘आफ्नो गाउँ आफैं बनाउन लाग्ने हो भने नमुना बनाउन सकिन्छ ।’
केही समयअघिसम्म म्यालपोखरी फोहोर फाल्ने खाडल बनेको थियो । बाबुबाजेले गाईभैंसीलाई पानी खुवाउन बनाएको पोखरीलाई घर–घरमा खानेपानीका धारा आएपछि नयाँ पुस्ताले संरक्षण नगर्दा डम्पिङ साइट नै बनेको थियो । तर, अहिले आधुनिक पोखरी निर्माण भएको छ । यसलाई शक्तिपीठका रूपमा बनाइएकाले यहाँ आउने जोकोहीले पूजापाठ र दर्शन गर्छन् । सेनाको पहलमा बनाइएको पोखरीमा ५२ दिनसम्म जनश्रमदान सेना र स्थानीयले गरेको म्यालपोखरी निर्माण समिति अध्यक्ष रिषव अधिकारीले बताए ।
सन १९७४ मा बनेको पोखरी पुरिएर फोहोर फाल्ने ठाउँ भएको थियो । अहिले आन्तरिक पर्यटकीय स्थल बन्न पुगेको उनले बताए । जहाँ शक्तिपीठ, त्यहाँ दर्शनार्थीको भीड हुन्छ, त्यसैले आधुनिकसँगै धार्मिक पर्यटकीय स्थलका लागि मूर्ति स्थापना गरिएको उनले बताए । यहाँ आउनेले फोटो खिचेर फेसबुकमा राख्छन् । प्रचार भएकै छ । हेर्न आउने थपिँदै छन्, उनले भने, ‘सानो भए पनि भविष्यमा राम्रो पर्यटकीयस्थल बन्ने सम्भावना बढ्दै गएको छ ।’
निर्माण सम्पन्न गर्न २१ लाख खर्च लागेको थियो । कुनै योजना थिएन । यस्तो बनाउँदैछौं भनेर नक्सा देखाउँदा तत्कालीन जिविसले १ लाख, सन्धिखर्क नगरपालिकाले २ लाख ४० हजार र जिल्ला भूसंरक्षण कार्यालयले ७० हजार बजेटले सामान किन्न पुग्यो ।
निर्माणको काम गाउँले र सेनाले गरेको उनले बताए । हेर्न गाडी रिजर्व गरेरै आउने गर्छन् । सुनसानजस्तै ठाउँ अहिले रमाइलो बनेको छ । जेठदेखि आन्तरिक पर्यटकीयस्थल नै बनेको छ ।
आधुनिक पोखरीले गाउँको महत्त्व बढाएको छ । धेरै नेवार जातिको बसोबास छ । बिहानै पूजापाठ गर्ने र टीका लगाउने गर्छन् ।
फोहोर भएपछि कोही आउने थिएनन् । अहिले दैनिक भीडभाड हुँदा पर्यटकीयस्थल बन्ने सम्भावित ठाउँ बनेको स्थानीय माधवश्रेष्ठले बताए ।