अर्घाखाँचीमा जग्गा कारोबार शून्य, गाउँ -गाउँमा चहलपहल बढ्यो, गाउँमै घडेरी बिक्री सुरु

सन्धिखर्कमा प्लटिङ गरिएको खेतको फाँट ।   
वीरेन्द्र केसी कान्तिपुर 
सन्धिखर्क, अर्घाखाँची । मुलुकमा शान्तिप्रक्रियाको केही वर्षमै सदरमुकाम सन्धिखर्कका खेतीयोग्य जमिन धमाधम ‘प्लटिङ’ गरिए । खोल्साखाल्सी र डाँडाकाँडा समेत डोजर लगाएर सम्याइए । घडेरी किन्ने धेरै भए ।
रोपनीको ४ करोड रुपैयाँसम्म मूल्य पुग्यो । रातारात आकासिएको मूल्य अहिले आरोलो लागेको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा मूल्यांकनको ८० प्रतिशत कर्जा लगानी गर्दा किनबेच फस्टाएको थियो । जग्गा कारोबारवाला रातारात करोडपति भए । तर, लगानी ५० प्रतिशतमा झारेर वित्तीय संस्थालाई कर्जा लगानीमा राष्ट्र बैंकले कडाइ गरेपछि कारोबार हात्तै घट्यो । बैंकले कर्जा लगानी खुकुलो पर्दा जग्गा बिक्री धेरै र मूल्य पनि बढेको थियो । अहिले उही घडेरीको मूल्य आधा घटेको छ । किनबेच छिटफुट मात्रै छ ।
Image result for सन्धिखर्क arghakhanchi
खेत मासेर प्लटिङ गरिएका घडेरी डेढ वर्षदेखि आधा मूल्यमा पनि बिक्री भएका छैनन् । अर्काे कारण हो, मुलुक संघीयतामा जानु । स्थानीय तह चुनावपछि गाउँ र नगरपालिकामा चहलपहल बढ्यो । धेरै गाउँ तथा नगरपालिकालाई जग्गाधनीले नि:शुल्क जग्गा उपलब्ध गराएका छन् । गाउँमै घडेरीमा बिक्री सुरु भएको छ । सदरमुकाममा रहेका धेरै सरकारी कार्यालय पालिकामा गएपछि सहरमा जग्गा किन्नेको रुचिमा कम भएको व्यवसायी बताउँछन् । बैंकले लगानी घटाएपछि जग्गा कारोबारमा कमी आएको व्यवसायी बाबुराम भुसाल बताउँछन् । गाउँपालिकामा विषयगत कार्यालय सबै भइसके । गाउँबाट विभिन्न योजना माग्न सदरमुकाम आउने र यही घडेरी किन्न मन लोभिन्थ्यो । तर, अहिले त्यस्तो छैन । ‘४ वर्षभित्र धेरै घडेरी बिक्री भए,’ उनले भने, ‘अहिले ती प्लटिङ घडेरी बिक्री हुनै छाडयो । यत्तिकै छन् ।’ पालिकामै चहलपहल बढेको भन्दै कारोबोर झनै घटेको उनले बताए । ६ स्थानीय तहमध्ये ५ वटा गाउँमै छन् ।
गाउँबाट सुविधा खोज्दै सहर झर्नेले घडेरी किन्ने बढेका थिए । खरिद बिक्री राम्रो भएको थियो । बजारका गल्लीमा घडेरी सकिएपछि चुत्रावेसी र सन्धिखर्कका हिउँदे तथा वर्षे खेती गर्दै आएका कृषकसँग व्यवसायीले खेत किने । सयौ मुरी उब्जनी हुने खेत प्लटिङ भए । बैंकले कर्जा लगानीमा गरेको कडाइले प्लटिङ गरिएको घडेरी सस्तोमा बिक्री गर्न पनि नसक्ने र लगानी बढाउन पनि नसक्ने भएकाले जग्गा व्यवसायी अत्तालिएका छन् । बैंकले लगानी गर्न छाडेपछि जग्गा कारोबारमा पनि ठूलो असर परेको भुसालले बताए । ‘घडेरी किन्नेबीच निकै प्रतिस्पर्धा भयो,’ उनले भने, ‘पैसावाला छिमेकीले किनेपछि अर्काेले ऋण खोजेरै किन्यो । माग धेरै भएपछि खेतीयोग्य जमिन मासेर प्लटिङ गर्नुपर्‍यो ।’ उनका अनुसार जग्गा किन्नेमा ९० प्रतिशत विदेश गएका परिवार थिए । घडेरी किनेकामध्ये २ प्रतिशतले पनि घर बनाएका छैनन् । खेतलाई मासेर घडेरीमा परिणत भएका जग्गा बिक्री नहुँदा व्यवसायीलाई ठूलो मार परेको अर्का व्यवसायी वसन्त भुसाल बताउँछन् । उनले सदरमुकामसँगै बुटवल र काठमाडौंमा पनि कारोबार गर्थे ।
‘जताततै बिक्री ठप्पै भयो,’ उनले भने, ‘कर्जा घटाउँदा मार पर्‍यो । अहिले कारोबार ठप्पै भएको छ ।’ सन्धिखर्कमा सार्वजनिक जग्गासमेत मिचेर प्लटिङ भएका छन् । सन्धिखर्क र चुत्राबेंसीको बीचमा रहेको वाँगी खोला साँघुरिएको छ । बेला–बेलामा सार्वजनिक जग्गा अतिक्रमणको कुरा उठे पनि सम्बन्धित निकायले खोजबिन गरेको छैन । सदरमुकामको घडेरी किनबेचले भीड हुने मालपोत कार्यालय त्यति चाप छैन । कारोबार हुँदा महिनामा सय बढी नामसारी भएका थिए । अहिले महिनामा २/४ वटा मात्रै किनबेच हुने गरेको मालपोत अधिकृत लोककुमार कार्कीले बताए ।

अन्य समाचारहरु