एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।
एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ।

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद –लेनिनवाद रहने छ ।

३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित (गर्दै समाजवादको आधार निमार्ण) गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षहरुद्वारा आलोपालो प्रणालीबाट गरिने छ र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।


शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान अन वान’ वार्तापछि आज एकता संयोजन समिति बैठक बसेको थियो। दुई अध्यक्षबीच एक्लाएक्लै वार्तामा पार्टी एकताका लागि सम्पूर्ण विषयमा कुरा मिलेपछि संयोजन समितिबाट टुंगो लगाउन बैठक डाकिएको थियो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेर एमाले र माओवादी केन्द्रले चुनावी सहकार्य गरेका थिए।  प्रदेशसभा सरकार गठनमा दुई पार्टीले पदको बाँडफाँट अनुपात ७० र ३० मा मिलाएका थिए।
राष्ट्रियसभा सदस्यमा दुवै दलले दुईतिहाइ र एकतिहाइ हुनेगरी  सिट बाँडफाँट गरेका सहकार्य गरे। पार्टी एकताका प्राविधिक विषय टुंगो लगाउन दुई पार्टीले एकता संयोजन समिति गठन गरेका थिए। पार्टी एकता संयोजन समितिमा एमालेबाट केपी ओली,  झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहेका छन्।
असोज १७ गते दुवै दलले पार्टी एकता गर्ने घोषणासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका थिए। नागरिकन्युजमा समाचार छ ।