नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई पक्राउ गर्न पुर्जी जारी

 नेपाल कम्प्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न बुधबार भोजपुरमा पक्राउ पुर्जी जारी गरिएको छ ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले चन्दलगायत २० जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।
यस्तै, गत कात्तिक २८ गते भोजपुरमा पूर्वसन्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण गरिएको थियो ।
भोजपुरका अरु भागमा पनि विस्फोट गराइएको थियो ।
पुस ९ गते चन्दको नाममा भोजपुर जिल्ला अदालतबाट ‘वारेन्ट’ जारी भएअनुसार प्रहरीले चन्दलगायत अरु नेता–कार्यकतालाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

कपिलवस्तुमा पनि पक्राउ पुर्जी

भोजपुर अदालतको आदेशानुसार चन्दको कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–९ चन्द्रौटास्थित घरमा पनि पक्राउ पुर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अदालतको आदेशअनुसार चन्दलाई पक्रन प्रहरीले देशैभर सर्कुलर जारी गरेको भोजपुर प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पन्जियारले जानकारी दिए ।
भोजपुर अदालतले उपस्थित गराउन भन्दै चन्दविरुद्ध पत्र काटेको छ, त्यसैका आधारमा प्रहरीले चन्दलाई खोजी गरिरहेको हो । चन्द भने लामो समयदेखि सार्वजनिकरुपमा देखापरेका छैनन् ।
उनीसँगै वारेन्ट जारी गरिएकामध्ये महेन्द्र तामाङ, प्रकाश गुरुङलाई धरौटीमा छाडिएको छ ।
साथै, पूर्वगृहराज्यमन्त्री तथा नेकपा कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य पदमबहादुर राईलाई भने बुधबारै जिल्ला अदालत भोजपुरमा हाजिर गराइएको छ । इमेजखबरमा समाचार छ ।