अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले चुनावमा महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीलाई सम्मान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न गराउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै महासंघ जिल्ला शाखाका अध्यक्ष हिम बहादुर घर्ती क्षत्री (जि.सी) लेकालीलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेको हो ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सम्मान पत्रले सम्मान गरेका थिए । यस्तै प्रजिअ भुसालले पत्रकार समाजको ऐना भएकोले सत्य तथ्य समाचार प्रबाहमा अर्घाखाँची जिल्लाका पत्रकारहरुले निभाएको भुमिकाका बारे प्रशंसा ब्यक्त गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले सम्मान पत्र बाचन गरेका थिए ।
उक्त सम्मान कार्यक्रममा जिल्ला अनुसन्धान प्रमुख गोपाल पन्थी, निमित्त प्रहरी नायब उपरीक्षक प्रदीप कुमार डि.सी. लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
वाम गठबन्धनलाई चुनाव जिताउन लागि परेको पत्रकार महासंघलाई सम्मान
गत मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष, उपाध्यक्ष लगायतका पत्रकार एमाले – माओवादी केन्द्र गठबन्धनलाई चुनाव जिताउन लागि परेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वामगठबन्धन अर्घाखाँचीको निर्वाचन परिचालन कमिटी अन्तर्गत संचार समन्वय समितिको संयोजकमा हिमबहादुर जि.सी.लेकाली र सहसंयोजकमा गणेश खनाल रहेका थिए । पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जि.सी. एमाले र महासंघका उपाध्यक्ष खनाल माओवादी केन्द्रका हुन् ।
उता पत्रकारहरु यसरी खुलेर राजनीतिकमा लगेको भन्दै जिल्ला भित्र र बाहिर व्यापक आलोचना भएको थियो । अर्घाखाँचीबासीहरुले पत्रकार महासंघ अर्घाखाँची शाखा खारेज गर्न माग समेत गरेका थिए । उनिहरुले पत्रकार महासंघ केन्द्रिय कार्यालयले अर्घाखाँची शाखा तुरुन्त खारेज गर्न वा स्वतन्त्र पत्रकारितामा लागेका पत्रकारहरुलाई समावेश गरी पुन: पत्रकार महासंघ अर्घाखाँची शाखाको गठन गर्नुपर्ने माग समेत गरेका थिए । राजनीतिक कार्यकर्तानै पत्रकार भएपछि पत्रकारिता क्षेत्रमा विकृति आएको उनिहरुको भनाई छ ।
उनि मात्र नभएर अर्घाखाँचीका एफ.एम रेडियो लगायत सबै मिडिया जिल्लाका राजनीतिक पार्टीका नेताहरुको लगानीमा चलेका छन् । ति सबै एफ.एम रेडियो, मिडियाले एक पक्षिय समाचार मात्र दिदै आएका देखिन्छन् ।
गत फागुन ३ र ४, २०७३ मा सम्पन्न पत्रकार महासंघ अर्घाखाँचीको चुनावपछि दलिय बाड्फाडका आधारमा जि.सी .अध्यक्ष पद समाल्दै आएका छन् ।