सुपादेउराली बाहेक अर्घाखाँचीका अन्य धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक पर्यटक पुग्दै

वीरेन्द्र केसी कान्तिपुर
अर्घाखाँची । शक्तिपीठ मन्दिर, मनोरम प्राकृतिक दृश्य र रमाइलो गर्न मिल्ने पर्यटकीय संरचना भएकाले सधैं श्रद्धालु अनि घुमफिर गर्नेको घुइँचो लाग्छ । त्यस्ता ठाउँमा परिवार, साथीभाइ र एक्लै गएर पनि दर्शन गर्ने रुची हुन्छ । जिल्लामा धार्मिक र प्राकृतिक पर्यटकीय स्थल धेरै छन् ।
तर, केही ठाउँ मात्रै चर्चित छन्, जहाँ दैनिक भीड नै लाग्छ । पूजापाठसँगै मनोरम दृश्यमा घुम्न र रमाउन पाइने भएकाले जोकोहीलाई जिल्लाको पहिलो धार्मिक गन्तव्य सुपादेउराली पुग्ने इच्छा हुन्छ । छिमेकी जिल्लासहित भारतबाट समेत यहाँ तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको छ ।
वरिपरि चट्टानले बनेका अग्ला दुई पहाड । प्राकृतिक सुन्दरताले हराभरा पहाडको काखैमा रहेको मन्दिरको आस्थाले सबैलाई तान्ने गर्छ । तरेली परेका पहाडमा हरियो जंगल । चिसो मौसम । चराचुरुंगीको चिरविर आवाज र प्राकृतिक अनेकांै अनुपम दृश्यले सबैलाई मोहित बनाउँछ । हेर्दै मनमोहक मन्दिरमा भाकल र पूजापाठ गर्दा आनन्द आउने र दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक जनविश्वासले दैनिक सयाैंको संख्यामा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रितमथापाले बताए ।
मन्दिरको इतिहास बेग्लै छ । खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत (लाहुर) जानुभन्दा अघि सुपामाईसँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गए । भारत बसाइँमा उनले राम्रै धन कमाए । फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जंगलको बाटो हुँदै भाग्न लाग्दा जंगलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । लाहुरे टाँसेको ठाउँ हेर्नेको पनि भीड लाग्छ ।
यहाँ भाकल र पूजापाठ गर्दा मनमा आँटेको पूरा हुने विश्वासले तीर्थालुको दिनहुँ भीड लाग्ने गरेको थापाले बताए । दैनिक एक–दुई सयसम्म तीर्थालु आउँछन् । यहाँ बिहे गरे दाम्पत्य जीवन सुखी हुने जनविश्वास छ । सन्धिखर्क–गोरुसिंगे खण्डमै रहेकाले वारपार गर्दा गाडी चालक र यात्रुले दर्शन गरेर भेटी चढाउँछन् ।
मन्दिरमा पाठापाठी र परेवा चढाइन्छ । पूजा गरेपछि नरपानीमा आएर प्रसाद ग्रहण गर्छन् । नरपानी, खाँची दरबार र ठाडादहमा धार्मिक पर्यटक घुम्ने गरेको समिति सचिव यादव घिमिरेले बताए । बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि पूजा गर्न थालिएको र ०६० मा बाबा नरनारायणले झण्डै डेढ करोडको लगानीमा काठमाडौं र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट ठूलो मन्दिर बनेपछि भक्तजन पनि बढेको घिमिरेले बताए ।
मन्दिरको भेटीले दुई स्कुल सञ्चालन र गाउँमा विकासका काम भएको छ । अब पर्यटकीय पूर्वाधारका काम गर्न योजना बनाएको उनले बताए । पर्यटकलाई स्थानीय उत्पादनको खाना र वेशभूषासहितको मनोरञ्जन दिन लागिएको उनले सुनाए ।
सुपादेउरालीमा भारत, दाङ, कपिलवस्तु, रूपन्देहीलगायतबाट दर्शन गर्न आउनेको दिनहुँ भीड लाग्छ । सन्धिखर्क र शीतगंगा नगरको सिमानामा मन्दिर रहेकाले संरचना बनाएर पर्यटकीय गन्तव्य बनाउने जनप्रतिनिधिले बताएका छन् । सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालले यस क्षेत्रमा पदयात्रालगायत पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गरिने बताए ।
सुपादेउराली मन्दिरसँगै अर्घादरबार भगवती मन्दिर, सिद्धेश्वर शिवालय मन्दिर चुत्राबेसी, बल्कोट पौवा, पाणिनि तपोभूमि, छत्रमहाराज, वामरुकको नरसिंहस्थान, ठाडाको डमरुदह र मालारानी मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।
Related image
पाकिस्तानबाट आएर ऋषि पाणिनि पोखराथोक र पणेना सिमानाको जंगलमा विश्वशान्तिको कामना गर्दै वर्षांैसम्म तपस्या गरेको किंवदन्ती छ । उनले तपस्यासँगै विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति र रचनासमेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख छ । उनले घनघोर जंगलमा ३० वर्षभन्दा बढी तपस्या गरे । व्याकरणको उद्गम थलो प्रचारप्रसार अभावमा महत्त्वहीनजस्तै भएको छ । तपस्या गरेको स्थल, पुराना प्राचीन संरचनासहितको तपोभूमिमा छिटफुट आन्तरिक पर्यटक जाने गर्छन् । संस्कृत व्याकरणको उद्गमस्थल तपोभूमि ४ सय वर्षपहिले पाकिस्थानबाट आएका पाणिनि भन्ने व्यक्तिले विश्वशान्तिको कामना गर्दै तपस्या गरेको ठाउँ भएकाले बुद्धको जस्तै यहाँ महत्त्व रहेको पाणिनी गाउँपालिका अध्यक्ष अच्यूत गौतमले बताए । संरक्षण र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले ४ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी गराए । ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमि रमाइलो र सुन्दर छ ।
चुत्राबेसीस्थित सिद्धेश्वर शिवालय मन्दिरमा नेपालकै ठूलो स्फटिकको शिवलिंग हेर्न भक्तजन आउँछन् । खाँची र अर्घामा बाइसेचौबीसे राजाले राज्य सञ्चालन गरेका दरबारको अहिले पनि उत्तिकै महत्त्व छ । अर्घामा भगवतीको मन्दिरमा दर्शन गर्न आन्तरिक पर्यटक आउँछन् ।
खाँचीमा दसैंको त्रयोदशी र अर्घा दरबारमा पूर्णिमाको दिन सरायँ जात्रा निकालिन्छ । सरायँको उत्पत्ति यहीँबाट भएकाले यसको महत्त्व रहेको छ । अर्घा दरबारको पनि ऐतिहासिक महत्त्व बेग्लै रहेकाले यसको संरक्षण र पर्यटन विस्तारका लागि योजना बनाएर काम गरिने सन्धिखर्क नगर उपप्रमुख ठाकुर विकले बताए ।
उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले शक्तिपीठकै कारण आन्तरिक र भारतीय पर्यटक भित्रिएकाले मन्दिरनजिकै रिसोर्ट, होटल तथा अन्य कारोबार बढेको बताए । धार्मिकस्थल सबैको आकर्षणको केन्द्र बन्दै गएको छ । दर्शन र घुम्न आउनेलाई कम्तीमा एक रात बस्ने र भुल्ने वातावरण बनाउन सके आर्थिक कारोबार बढ्ने र स्थानीय स्वरोजगार बन्ने उनले बताए ।
तस्बिरमा २०६४ सालमा निर्माणधिन सुपादेउरली मन्दिर:- 

२०६४ सालमा निर्माणधिन सुपादेउरली मन्दिर । फाइल  

अन्य समाचारहरु