सिद्धारामा स्नाकोत्तर गरेका यामलाल बाख्रापालन गर्दै, खसीबोका बेचेर वर्षमा १२ देखि १५ लाख रुपैयाँ आम्दानी

पावरामा वनमा बाख्रा चराएर घरतर्फ ल्याउँदै कृषक । 
वीरेन्द्र केसी कान्तिपुर
 सिद्धारा, अर्घाखाँची । कपिलवस्तुका यामलाल आचार्य राजनीतिशास्त्र र नेपाली विषयमा स्नाकोत्तर उत्तीर्ण हुन् । त्यसपछि पाटन र गैरीशंकर क्याम्पसका प्रध्यापक बने । आफ्नै लगानीमा खोलेको अन्नपूर्ण मावि (बोर्डिङ) को प्राचार्य भए ।
यतिले मात्र उनको मन थामिएन । शिक्षण पेसा छाडेर बाख्रा पाल्ने सोचले तीन वर्षअघि अर्घाखाँचीको सिद्धारामा ५ सय ५० रोपनी खरबारी र जंगल किने । हाम्रो एग्रो एन्ड रिसर्च सेन्टर प्रालि दर्ता गरी बाख्रापालन थालेको उनी बतााउँछन् । एक करोड रुपैयाँको लगानीमा सुरु सेन्टरमा उनीसहित ५ जनाले लगानी रहेको छ । फार्ममा भने प्राय: उनी एक्लै बसेर काम गर्छन् । केही महिनाअघि ५ सय बाख्रा थिए । साताअघि ७० वटा खसी बिक्री गरेको उनले सुनाए । ‘अहिले ६० खसी र १२ वटा पाठा छन् । खोरमा २ सय ५० वटा मात्रै छन्,’ उनले भने, ‘बाख्रा ब्याउने तयारीमा छन् । फेरि संख्या बढ्छ ।’ खसीबोका बेचेर वर्षमा १२ देखि १५ लाख रुपैयाँ आम्दानी हुन्छ । जति हुन्छ आम्दानी सेन्टरमै लगानी थपेको उनले बताए ।
‘पढेलेखेका जति सबैले कलम समात्ने भन्दा कृषि क्षेत्र बिग्रियो,’ उनले भने, ‘त्यसैले कृषितिर हात हालेको हुँ ।’ गाउँका खेतबारी बाँझिएकाले खाद्यान्य उत्पादन बर्सेनि घट्दो छ । युवाशक्ति सबै विदेशतिर जान्छन् । पढेलेखेकाले जागिर मात्रै खोज्ने गरेको उनको भनाइ छ । ‘शिक्षण पेसाबाटै मेरो जीवन चल्थ्यो,’ उनले भने, ‘कृषिकर्म नै गर्नुपर्छ भनेर बाख्रापालनमा आएँ । भविष्य यता झनै उज्ज्वल छ ।’ अब कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्छ । जमुनापारी र खरी जातका बाख्रा छन् । एक वर्षभित्रै बाख्राको संख्या हजार पुर्‍याउने लक्ष्य उनले सुनाए । जागिर छाडेर यता हात हाल्दा परिवार, साथीभाइ र इस्टमित्र रिसाएर बोल्नै छाडेको उनी बताउँछन् । ‘अहिले पनि यत्तिकै फार्म सित्तैमा छाडेर जाने हो भने परिवार खुसी हुन्छ,’ उनले भने, ‘अब म कृषिबाट कतै फर्किन्न ।’
खसीबोका जिउँदोमा ३ सय ५० र पाठी २ सय ३० रुपैयाँमा बिक्री हुन्छ । जंगलका जडीबुटी, घाँस र स्वच्छ हावापानीमा हुर्केका खसीबोका भन्दै तराईबाट ग्राहक फार्ममै आउँछन् । खसीबोका बुटवल र कपिलवस्तुमा जान्छ । उनले आठ जनालाई रोजगारसमेत दिएका छन् । कामदारलाई दुई वर्षमा स्थायी बनाउने र २० वर्ष काम गरेपछि उपदानसहित अवकाश गर्ने नियम बनाएको आचार्यले बताए । हेर्न आउनेलाई बस्न गेस्टहाउस पनि छ । बाख्रासँगै ५ सय लेयर्स कुखुरा पाल्न खोर निर्माण गर्दैछन् । कागतीका ५० हजार बिरुवा यसै वर्ष उत्पादन हुँदै गरेको उनलेजानकारी दिए ।
सिद्धारा जिल्लाको दुर्गम अन्तर्गत पर्छ । मोटरबाटो, बिजुली र सञ्चार सुविधा छ । तर, यहाँका रैथाने सुविधा खोज्दै तराई बसाइँसराइ गरिरहेका छन् । गाउँका खेतबारी बिक्री नभएर यत्तिकै बाँझै छन् । घर जीर्ण बन्दै गए । आचार्यले जंगलै किनेर बाख्रापाल्न थाले पनि बसाइँसराइ रोकिएन । ‘नेता र पढेलेखेकाले कृषि क्रान्ति भनेर नारा मात्रै घन्काउँछन् तर कृषिमा हात हाल्दैनन्,’ उनले भने, ‘त्यसैले मैले शिक्षण पेसा छाडेर बाख्रा पालेको हुँ । पशुपालन र अन्न उत्पादनमा राम्रो भविष्य छ । मेहनतचाँहि गर्नुपर्छ ।’ बाख्रा पाल्न त्यति सजिलो छैन । खानपान, स्याहारसुसारदेखि रोगबाट बचाउन र खसीबोकाको तौल बढाउन र बाख्रा ब्याउने बनाउन सकस नै रहेको उनले बताए । सिद्धाराकै मौवाबारीमा पनि महिला बाख्रपालनमा सक्रिय छन् । २१ महिला समूहमा आबद्ध भएर खसीबोका बिक्रीबाट घरखर्च पुर्‍याएका छन् । समूहकी उपाध्यक्ष शिला घर्तीले बाख्रापालनबाट वर्षमा दुई लाख आम्दानी भएको छ, त्यसले खर्च पुगेको बताइन् । बाख्रा पाल्नु नौलो होइन । तर, परम्परागत भन्दा आधुनिक तरिकाले पालेपछि छिटो पाठापाठी जन्माउने, हुर्किने र तौल धेरै हुने भएकाले महिला हौसिएका छन् ।
घर्तीले एउटा ब्याउने बाख्रा ५ हजार रुपैयाँमा किनेर ल्याइन् । जुम्ल्याहा पाठा जन्मिए । खसी बेचेर ऋण तिरिन् । बचेको पैसाले दुई पाठी थपिन् । तीन वर्षमा १७ बाख्रा पुगे । केही ब्याउने छन् । वर्ष दिनसम्म एउटा बोको पाल्दा १५ केजीको तौलभन्दा बढी भएन । अहिले एउटा खसी र बोका ६ महिना पाल्दा २० केजीसम्मको भएको छ, मौवाबारी स्वावलम्बी महिला समूहकी उपाध्यक्ष घर्तीले भनिन् । बाख्रा उनै हुन् । स्थानीय जातको बाख्रालाई उन्नत जातको विर्यबाट जुम्ल्याहा पाठापाठी जन्मिने र तौल दोब्बर हुने गर्छ । 
बाख्रापालनबाट आम्दानी राम्रो भएको उनले बताइन् । वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बाख्रापालनलाई विकास गर्न बोयर जातको बोका सबै किसानको समूहमा पुर्‍याउने जानकारी दिए । अस्ट्रिया देशबाट बोयर बोका ल्याएर तनहुँको बन्दीपुरमा परीक्षण गरेर सफल भएपछि अर्घाखाँचीको डिभर्नामा सुरु गरिएको हो । यहाँ फस्टाएको छ ।
स्थानीय बाख्रालाई बोयर बोका लगाएपछि जन्मने पाठापाठी नै चार देखि छ किलोसम्म हुन्छन् । ६ महिला पाल्दा २० किलो तौल बोकाको हुन्छ । सुकेको र हरियो जुन घाँस पनि खाने भएपछि पाल्न पनि सजिलै छ । स्थानीय बोका वर्ष दिन पाल्दा २० किलो बनाउन मुस्किल पर्छ । बोयर जातको बोका–बाख्रापालनबाट कृषकको आयस्तर राम्रो हुने उनले बताए । शीतगंगा नगरपालिकाको सिद्धारा, सिमलपानीलगायतसिंगो नगर पशुपालनका लागि राम्रो ठाउँ मानिन्छ । शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले पशुपालनबाट नगरवासीलाई समृद्ध बनाउन कृषिमा आधुनिकीकरण कार्यक्रम ल्याइएको बताए । उनले भौगोलिक जटिलताकाकारण विकासका काम गर्न अप्ठ्यारो परेको भन्दै नगरका १४ वटै वडामा उन्नत जातका बाख्रा, खसीबोका र गाईभैंसी पाल्नतिर आकर्षित गरी आम्दानी बढाउन आफू लागिपरेको बताए ।

अन्य समाचारहरु