अर्घाखाँचीका सुनिल सामाजिक सञ्जालबाट यसरी ठगिए

 प्रेमनारायण आचार्य
 भूमिकास्थान, अर्घाखाँची, फागुन १८ । पछिल्लो समय आफूभन्दा टाढा रहेका आफन्त, साथीभाई नजिक बनाउन सामाजिक संजालले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
फेसबुक, ट्विटर, इमो, भाइबरजस्ता सामाजिक सञ्जालले टाढा रहेका आफन्तलाई नजिक बनाउन सहयोग गर्ने गर्छ । कतै भने यसले विकृति, विसंगति पनि बढाउन थालेको छ । 
सामाजिक सञ्जालको प्रयोग गरी कतै धम्की आउँछन् भनै कतै मिठा कुरा गरेर फसाउन खोज्छन् । यस्तै अर्घाखाँची जिल्लामा सामाजिक संजालको प्रयोगबाट  एउटा ठगीको घटना घटेको छ ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नं. ७ स्थायी बसोबास् गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिएका छन् । फागुन १० गते रोजगारको शिलशिलामा दुबईमा रहेका प्रताप रानाले सुनिल परियार नाम गरेका व्यक्तिलाई तपाईँलाई लट्री परेको छ भन्दै ईमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्, भन्दै बैंकको खाता नम्बर मागेका थिए । 
सबै कुराकानी भइसकेपछि तपाईँले त्यो पैसा प्राप्त गर्न केही ट्याक्स पठाइदिनु पर्छ, भनेपछि इमो कम्पनीको नामबाट आएको नम्बरबाट फोन आउँदा विश्वास गरेर आईएमईमार्फत ३६ हजार रुपन्देहीका शैलेन्द्र कुमार बहराईलाई सुनिलले पठाई दिए । 
गएको बिहीबार दिउँसो ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आईएमई गरेको एक घण्टापछि २५ लाख प्राप्त गर्नका लागि ७५ हजार पठाउन भनेपछि उ परियार दोधारमा परे ।  सुनिलले  दाजु रमेश परियारसँग यो कुरा बताएपछि मात्र आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे ।   पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको ३६ हजार कसरी पाउन सकिन्छ भन्दै  दुइ भाइ रुपन्देही गए । 
इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्र कुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले शैलेन्द्रलाई पक्राउ गरी रकम असुली भएको छ । जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीबाट सादा पोसाकमा खटिएका प्रहरीको टोलीले शैलेन्द्रलाई पक्राउ गरेको प्रहरी नायव निरीक्षक विजय धवालले बताउनुभयो ।

अन्य समाचारहरु