बंगला एअरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

सरकारले युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा आयोग गठन गरेको हो ।
आयोगमा नेपाली सेनाका प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन के के शर्मा, सुनील प्रधान, इन्जिनियर उद्धवप्रसाद सुवेदी र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।
आयोगलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
बंगलादेशको राजधानी ढाकाबाट आएको सो विमान अवतरणकाक्रममा सोमबार दिउँसो २ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनमा परेको हो ।
दुर्घटनामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।