युएस बंगाल एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २५ जनाको शव पहिचान


गत फागुन २८ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगाल एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २५ जनाको शव पहिचान भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्ज फोरेन्सिक विभागले शनिबार पत्रकार सम्मेलन गरी विमान दुर्घटनामा ज्यान गुमाएका ५१ जनामध्ये २५ जनाको शव पहिचान भएको जनाएको छ ।
फोरेन्सिक विभागका प्रमुख प्रमोद श्रेष्ठले शव पहिचान भएकामध्ये १० जना नेपाली, १४ जना बंगलादेशी र एकजना चिनियाँ नागरिक रहेको जानकारी दिए ।
चालकदलका सदस्यमध्ये तीनजनाको शव पहिचान भएको पनि डा. श्रेष्ठले जानकारी दिए ।
आवश्यक प्रक्रिया पूरा गरी आफन्तले शनिबारैदेखि शव लैजानसक्ने अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका नेपालीहरुमध्ये शीला बजगाइँ, प्रशन्न पाण्डे, अन्जीना बराल, डा. बालकृष्ण थापा, हरिशंकर पौडेल, प्रवीन चित्रकार, सञ्जय महर्जन, ज्ञानीकुमारी गुरुङ, मिली महर्जन र पूर्णिमा लोहनीको शव पहिचान भएको छ । इमेजखबरमा समाचार छ ।