सिमलपानीको भंगल गाउँका सबै परिवारले वनमा रोजगारी पाए, घरमै बसेर प्रत्येक महिना २०/२५ हजार आम्दानी


वीरेन्द्र केसी कान्तिपुर
सिमलपानी, अर्घाखाँची । रोजगारी खोज्दै विदेशिनेको संख्यामा कमी आएको छैन । यहाँका युवा भने कोही पनि विदेश गएका छैनन् । स्थानीय वनमा सबै परिवारले रोजगारी पाएका हुन् ।
शीतगंगा नगरपालिका १३ भंगलका ३२ परिवार स्वरोजगार छन् । धिरीखोला सामुदायिक वन उनीहरूको आम्दानीको स्रोत हो ।
दुई सय सात हेक्टर क्षेत्रफलमध्ये एक सय २६ मा वैज्ञानिक वन व्यवस्थापन भइसकेको छ । पुराना रूख हटाएर नयाँ बिरुवा रोपिएको छ । यहाँ साल, असना, कर्मा, मौवालगायत ठूला रूखको जंगल छ । बिरुवा हुर्काउनेदेखि काटनेसम्मको काम सबै समुदायले नै गर्छन् । वैज्ञानिक वन व्यवस्थापनभित्र बाह्रै महिना सबैलाई काम पुग्छ । असारदेखि मंसिरसम्म जंगलभित्र गोडमेल, सरसफाइ र बिरुवा हुर्काउनेको काम हुन्छ । पुसदेखि जेठसम्म झाडी फाँड्ने, अग्नि नियन्त्रणका लागि पाँच मिटर चौडाइमा पातपतिंगर हटाउन भुइँ बढार्ने, रूख र बिरुवाबाहेक अनावश्यक लहरा काँटछाँट गर्ने काम भ्याइनभ्याइ छ । हिउँदभर बूढा रूख कटान गर्न पुरुष व्यस्त हुन्छन् । व्यवसायीलाई काठ बिक्री गर्न पुरुषले रूख ढाल्ने, गोलिया बनाउने र गाडीमा लोड गरिदिनेसमेत गर्छन् । अघिल्लो वर्ष एक सय ३४ बूढा रूखको काठबाट एक करोड १२ लाख रुपैयाँ आम्दानी भएको थियो ।
काम गरेबापत ज्याला धिरीखोला सामुदायिक वन उपभोक्ता समूहले दिन्छ । भंगलाका गिरबहादुर रानाले कतार मलेसिया र इराकमा तीन–तीन वर्ष बिताए । ५ वर्षदेखि उनी यतै छन् । उनी यतिबेला जंगलमा रूख चिरान गर्न व्यस्त देखिन्छन् । झाडी फाँड्ने, रूख ढालेर गोलिया बनाउने, घर निर्माणको लागि काठ तयार गर्ने, आगालागीबाट वन जोगाउन फायरलाइन बनाउन सरसफाइ, बिरुवा हुर्काउन मलजल गर्ने काममा दिन बितिरहेको छ । ‘दैनिक आठ घण्टा वनको काम गर्छु,’ उनले भने, ‘त्यसबापत दैनिक ७ सय रुपैयाँ पाउँछु । महिनामा २१ हजार हुन्छ ।’ वनले स्वरोजगार बनाएको छ । परिवारसँग बसेर घरखर्च चलेको उनले बताए । ‘अब विदेश जान्नँ,’ उनले भने, ‘वन संरक्षण गर्नमै ध्यान दिन्छु ।’ उनकी श्रीमती पनि वनमै काम गर्छिन् ।
रानासँगै काठ चिरान गरिरहेका डिलबहादुर गुरुङले ६ वर्ष मलेसियामा बिताए । त्यताभन्दा वनबाटै राम्रो आम्दानी छ । ‘वनबाट आम्दानी पनि हुने, परिवारसँग बस्नसमेत पाइएको छ,’ उनले भने, ‘नयाँ बिरुवा हुर्काउँदा भावी पुस्तालाई वनबाट राम्रै हुन्छ ।’ समूहबाट उनले दुई लाख ऋण लिएर चारवटा बाख्रा किनेका छन् । बोका र खसी बेचेर ऋण तिर्छु, उनले भने । उनकी श्रीमती सुमित्रा समूहकी सदस्य हुन् । उनी पनि वनमै काम गर्छिन् ।
कृष्णप्रसाद भुसाल साउदीमा १२ वर्ष बिताए । एक वर्षदेखि वन संरक्षण गर्नमै व्यस्त छन् । विदेशमा भन्दा वनबाटै वर्षमा ८० हजार रुपैयाँ बचत भएको छ । साल, असना हुर्किनबाट असर पार्ने अन्य रूख उखेल्ने, हाँगा काटेर रूख सीधा र अग्लो बनाउन दैनिक वनमै जाने उनले बताए ।
गोमा भुसालले पनि समूहबाट असोजमा एक लाख ऋण लिएर भैंसी किनेकी छन् । त्यो भैंसीले ४ लिटर दूध दिन्छ । घ्यू किलोको १२ सय र दूध ८० रुपैयाँ लिटरमा बिक्री हुन्छ । ‘यही आम्दानीबाट ऋण चुक्ता गर्छु,’ उनले भनिन्, ‘श्रीमान् रोगी हुनुहुन्छ । ५ वर्षे किस्तामा ऋण लिएकी हुँ ।’ सबैका घरमा भैंसी पाल्ने र समूह गठन गरेर दूध कपिलवस्तुको वनगाई, चार नम्बर बजारमा पठाउने तयारी भइरहेको उनले सुनाइन् ।
वैज्ञानिक वन व्यवस्थापनले उपभोक्तालाई स्वरोजगार बनाएको छैन, वर्षौंदेखिका बूढा रूख निकालिएको छ । नयाँ विरुवा र रूखमा मलजल गर्ने, रूखका बाङ्गाटिङ्गा हाँगा काटेपछि छोटो समयमा हुर्किने गर्छ । उपभोक्ताले अनावश्यक झाडी सफा गरेर वन चिटिक्क पारेका छन् ।
बहुमूल्य काठ र वनले सिंगो गाउँ आत्मनिर्भर बनेको छ । समूहको नेतृत्व पढेलेखेकाले नै गरेका छन् । महिलामा धेरै पढेकी सीमा गुरुङ समूह अध्यक्ष हुन् । दुर्गम बस्ती भए पनि वनको आम्दानीले उपभोक्ता धनी छन् । ‘महिला र पुरुषलाई दैनिक ५ सय ४५ रुपैयाँ ज्याला दिन्छौं,’ गुरुङले भनिन्, ‘सबै वनमै व्यस्त हुन्छन् । एक घरले वर्षमा २० देखि एक लाख रुपैयाँसम्म बचत गर्छन् ।’
दुई वर्षभित्रमा १५ पुरुष विदेश जान छाडेर यही काम थालेका छन् । अब तीन जना मात्रै विदेश छन् । घर आएपछि उनीहरूलाई पनि यही काम लगाउने उनले बताइन् । ‘वैज्ञानिक वन व्यवस्थापनले काम गर्न सक्ने उमेरका सबै रोजगार छन्,’ गुरुङले भनिन्, ‘केही वर्षभित्रैमा वनको सबै क्षेत्रफल वैज्ञानिक व्यवस्थापन हुन्छ ।’ यो तरिका यहाँ सफल भएको छ । वन कार्यालयले बेला–बेलामा तालिम र प्रशिक्षण दिने गर्छ । ‘साललगायत धेरै रूखको आयु सरदर ८० वर्ष हुन्छ,’ सहायक जिल्ला वन अधिकृत एवं पावरा रेन्जपोस्ट प्रमुख जितेन्द्रसिंह खड्काले भने, ‘वैज्ञानिक तरिकाले वन संरक्षण र आम्दानी दुवै भएको छ ।’ यसमा बूढा रूख हटाउने, कलिलाको हाँगाबिँगा हटाउने र तारबार गरिन्छ ।

अन्य समाचारहरु