खिदिम, पोखराथोक, पणेना र पटौटीका किसान दालचिनी खेतीतर्फ आकर्षित


वीरेन्द्र केसी कान्तिपुर 
अर्घाखाँची  । आम्दानी बढेपछि अन्न उब्जनी हुने बारीमा किसानले दालचिनी (सिन्कौली) खेती गर्न थालेका छन् । घाँस र सोत्तरको रूपमा प्रयोग हुने पातबाट किसानले आम्दानी गर्न थालेका हुन् । पात र बोक्रा बिक्री हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
पाणिनी गाउँपालिकाको खिदिम, पोखराथोक, पणेना र पटौटी गाउँमा खेती विस्तार भएको छ । अभियानकै रूपमा खेतबारीमा नयाँ बिरुवा लगाउने र मलजल गरेर धेरै पात बनाउनेतर्फ धेरै किसानको ध्यान छ ।
पणेनाकी अम्बिका पोखरेलले रूखलाई दैनिक स्याहारसुसार गर्छिन् । ‘जति धेरै पात, उति धेरै पैसा पर्छ,’ उनले भनिन्, ‘त्यसैले जति धेरै सुसार गर्‍यो, उति धेरै पात लाग्छ कि भन्ने हुन्छ ।’ उनले यसपटक मात्र ५० बिरुवा थपिन् । पात र बोक्रा किन्न ग्राहक घरमै आएपछि उनलाई अचम्म लाग्यो । भैंसीलाई सोत्तरको रूपमा प्रयोग हुने जंगलका दालचिनीका रूख जंगलबाटै बिक्री हुन थालेको उनले बताइन् ।
रोपेको ३ वर्षमै दालचिनीको पात टिप्न सकिन्छ । काँचो पात प्रतिकिलो ५० र बोक्रा ९० रुपैयाँमा बिक्री हुन्छ । पात र बोक्रा बिक्रीबाट वर्षमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ । बारीछेउ उनका ४० रूख छन् । व्यापारी घरमै खरिद गर्न आउँछन् । पालिकाको सबैका घरका खरबारी र सामुदायिक वनको झाडी र अन्य रूख नै फाँडेर दालचिनीको खेती विस्तार भएको छ । पणेनाका खुमानन्द पोखरेलले २५ हजार बिरुवा उत्पादन गरेका छन । तीन वर्षमा आम्दानी लिन सकिने भएकाले बिरुवाको माग थेगिनसक्नु भएको उनले बताए ।
‘असिनाले दालचिनीको पात झर्दैन, रोगकिरा पनि लाग्दैन,’ ९० वर्षीय रामबहादुर घर्तीले भने, ‘आम्दानी लिने सजिलो उपाय हो ।’ पोखराथोकको सामुदायिक वनमा धमाधम सल्ला, सिमल केही वर्षअघि समुदायले रोपेका थिए । तर, अहिले तिनै रूख फाँडेर ओखर र दालचिनीका रूख रोपेका छन् । खिदिमका खिमानन्द गौतमका ६ दलाचिनीका रूख छन् । एउटै रूखको पात एक पटकमा ५ हजार रुपैयाँमा बिक्री हुन्छ ।
दालचिनी र ओखरबाट ५ वर्षमा पाणिनी सजिलै समृद्ध हुने जिल्ला वन अधिकृत दीपक ज्ञवाली बताउँछन्। ‘आम्दानी राम्रो भएकाले दालचिनीको भविष्य उज्ज्वल छ, अब योजना बनाएरै विस्तार गर्छांै,’ गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले भनिन् ।

अन्य समाचारहरु