नरपानीको पावरामा उत्पादन भएको गहुँ काट्दै कृषक । अहिले गहुँको बालामा दाना थोरै फलेका छन् ।
वीरेन्द्र केसी कान्तिपुर
नरपानी, अर्घाखाँची । अन्नबालीमा खुम्चिएका दाना, रोगको संक्रमण र आधा कुहिनेजस्ता समस्या देखा परेका छन् । विज्ञका अनुसार जलवायुको प्रत्यक्ष असरले बाली राम्रो नहुने, उत्पादन घट्दो छ ।
तरकारी र पशुपालनमा पनि असर परेको छ । घरपालुवा भैंसी र बाख्रामा बाँझोपन र गर्भपतन समस्या देखिएको किसान बताउँछन् ।
जलवायु परिवर्तनले अन्न उत्पादन घट्दै गएको वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारीले बताए । ‘नयाँ रोग देखा परेर बोट नै नबढ्ने, दाना राम्रो नफल्ने र बीचमै कुहिनेजस्ता समस्या आएको छ,’ उनले भने, ‘जलवायुको प्रत्यक्ष असरले अन्नबाली, तरकारी र मसलाबाली उत्पादनमा कमी आयो ।’ त्यही बारी, उही जातको बीउ भए पनि माटोबाट बाहिर निस्केपछि बिरुवा हुँदै फल पाक्दासम्म अनेक प्रकारको संक्रमणले ह्रास गर्ने उनले बताए ।
पशुपालनमा पनि असर देखा पर्यो । जलवायु परिवर्तन अनुकूलनका उपाय अपनाएर पशुपालनमा कृषकलाई अग्रसर पारिएको वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले बताए । असरबाट जोगिन गोठ सुधार, भकारोमा गाईभैसीलाई सोत्तर राखिदिने, दिसापिसाब शरीरमा लाग्न नदिने, गोठ हावा खेल्ने खालको हुनुपर्ने, बेलाबेला पशुलाई नुहाइदिनेजस्ता चेतनामूलक अभियान चलाइएको सञ्चालन गरिएको उनले बताए । जुध्न सक्ने नयाँ जातको घाँस बारीमा रोप्ने, आहारमा ध्यान दिनेजस्ता सजकता अपनाएको उनले बताए । ‘गर्व तुहिने, गर्भाधारण नहुने समस्या हुन नदिने उपाय पनि अपनाएका छौं,’ उनले भने, ‘पिउने पानीले पनि रोग निम्त्याउने खतरा छ ।’
नरपानीकी देवकला सूर्यवंशीको खेतबारीमा केही वर्षअघिसम्म मकै, धान र गहुँमा रोग लाग्ने, उत्पादनमा कमी आएको थिएन । ‘जेनतेन बाली लगायो, रोगकीराबाट कसरी जोगाउने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘नयाँ रोग देखा परेको छ । पाक्दा मकै, गहुँ र धानको दानामा खोस्टा धेरै हुन्छन् ।’ पहिले पोटिला फल्ने गथ्र्यो । अहिले मकैको दाना खुम्चिएको हुन्छ । उत्पादन पनि निकै कम भएको उनले बताइन । सीमी–बोडीलगायत तरकारीमा पनि असर परेको छ । ‘अहिले रोग धेरै, उत्पादन कम भयो,’ उनले भनिन्, ‘बेलैमा पानी पर्दैन । मौसम फरक हुन्छ । गहुँ र मकैमा पोके धेरै देखा परे ।’
एउटै बारी हो । पहिले धेरै ठूलो मकैको घोगा र लटरम्मै गहुँ फल्नेमा अहिले घोगा सानो, पोके र भित्र दाना चाउरी परेको पोखेडाँडाकी कमला झाँक्रीले बताइन् । ‘जलवायु परिवर्तन र मौसम अनुकूलतासँग जुधेर कसरी अन्न फलाउने भन्ने चुनौती छ,’ उनी भन्छिन्, ‘बाँच्ने आधार नै अन्न हो । दु:ख गरेर के गर्नु नयाँ रोग लागेर कम फलेपछि गाह्रो परेको छ ।’ बारीमा फर्सी, करेला, सीमी बोडीमा पनि दाग देखा पर्ने र भित्र कुहिने उनले बताइन् । के(के रोग लाग्छ खै हामीलाई त हैरानी बनायो, उनले भनिन् । बारीमा मल पनि पहिलेको जस्तै राखिएको छ । तर, उत्पादन घट्यो ।
कृषकको आम्दानी र बाँच्ने स्रोत नै खेतबारीको उब्जनी हो । भैंसी र बाख्रामा पनि मौसम परिवर्तनले असर पर्यो । यी दुवैमा रोग देखा परेपछि समस्या भएको छ । दूधका लागि भैंसी पालिन्छ । ‘गर्भ रहेको भैंसी बीचमा गर्भपतन हुन्छ,’ नरपानीका कमल पुनले भनिन्, ‘बाँझोपन पनि हुन्छन् । अलि दु:ख भएको छ ।’ बाख्रामा पनि त्यस्तै समस्या छ । अलि अग्लो र चिसो ठाउँ नरपानीमा बढी असर देखिएको हो ।
कृषिमा जलवायु परिवर्तन अनुकूलता आयोजनाले असरबाट जोगिने उपाय खोज्न पहल गरेको छ । समयमै पानी नपर्दा पनि बालीलाई असर गरेको छ । सुख्खा मौसम र रोगकीरासँग जुध्न सक्ने बाली लगाउने र उत्पादन कमी हुन नदिने उपाय खोज्न थालिएको छ । त्यसका लागि उन्नत जातका मकै उत्पादन परीक्षण गरिएको हो ।
दुई रोपनी बारीमा जलवायु परिवर्तनसँग जुध्न सक्ने मनकामना ३ र ६, गणेश–१ र २, रामपुर कम्पोजिट जातको मकै उत्पादनको परीक्षण गरियो । अर्काे वर्ष गहुँमा पनि परीक्षण गरिँदै छ ।