रौतहटको गढीमाई नगरपालिकामा स्थानीयबासीले तालाबन्दी गरेपछि कामकाज प्रभावित

अनियमितता भएको भन्दै गढीमाई नगरपालिका कार्यालयमा तालाबन्दी
रौतहटको गढीमाई नगरपालिका कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ ।
यस आर्थिक बर्षमा लिएको नीति, योजना विपरित नगरकार्यपालिका सञ्चालन गरिएको भन्दै स्थानीयले गत बुधबारदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले अहिलेसम्म नगरकार्यपालिकाले गरेका कामको छानबिनको मागसमेत गरेका छन् ।
स्थानीयबासिन्दाले कार्यालयको व्यवस्थापनका लागि नगरपालिकाको कार्यालयले टेण्डर बिनानै कम्प्युटर, फर्निचर तथा स्टेसनरी सामान खरिद गरी अनियमितता गरेको आरोप लगाएका छन् ।
त्यसैगरी नगरभित्रका स्वास्थ्य चौकीका लागि खरिद गरिएको औषधि र किसानको लागि खरिद गरिएको कीटनाशक औषधि छर्ने ट्यांकीमा अनियमितता भएको आरोप पनि उनीहरुले लगाएका छन् ।
नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि वडा नम्बर ९ को वडा कार्यालयबाट नगरकार्यपालिकाको कार्यालय संचालन गरिएको छ । इमेजखबरमा समाचार छ ।