फरार अपराधी भन्दै नुवाकोटमा चलान भएका दुईजना बन्दी निर्दोष ठहरिए

थुनामा रहेका दुईजना निर्दोष ठहर
फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नम्बर-४ थप्रेकका भीमबहादुर तामाङ र वडा नम्बर-५ भद्रुटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र मीरा खड्काको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार निर्दोष रहेको ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा उनीहरु दुवैजना सोमबार थुनामुक्त भएका छन् ।
चेलबेटी बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालतले २०४२ सालमा १० वर्ष कैद सजाय सुनाएकाले सोही मुद्दामा दोषीको नाम मिलेको भन्दै भीमबहादुरलाई नुवाकोट प्रहरीले गत माघ १० गते पक्राउ गरेको थियो ।
उनको ठेगाना साविक थप्रेक–२ भएपनि दोषी ठहर भएका व्यक्ति थप्रेक–१ का रहेको प्रहरीको मिसिलमा उल्लेख थियो ।
भीमबहादुरका छोरा कमलबहादुरले बुवालाई पक्राउ गरेपछि आफूहरुको अध्ययनसमेत प्रभावित भएको र पारिवारिक पीडा, मानसिक तनाव र बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गर्दा आर्थिक नोक्सान भएपनि न्याय पाउँदा खुसी लागेको बताए ।
यस्तै, २०१५ सालमा चोरी मुद्दामा दोषी ठहर भएको भन्दै २०१८ सालमा जन्मिएका सानुवीरे तामाङलाई प्रहरीले गत फागुन ९ गते पक्राउ गरी अदालतमा बुझाएको थियो ।
प्रहरीले बुझाएलगत्तै दुवैजनालाई ‘दोषी ठहर भएका व्यक्ति’ भएको जिकिर गर्दै अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले कैदीपुर्जी थमाएर कारागार चलान गरेका थिए ।
सर्वोच्चबाट निर्दोष ठहर भएका ‘नौले’ भनिने सानुवीरे तामाङका छोरा प्रेमबहादुरले आफ्नो बुवाले अपराध नगरेको प्रमाण पेस गर्दागर्दै जिल्ला प्रहरी र अदालतबाट पीडित बनाएपनि अहिलेको सर्वोच्चको आदेशमा न्याय मिलेको बताए ।
नुुवाकोट प्रहरीले न्यायालयको फैसला कार्यान्वयनलाई पुस अन्तिम सातादेखि अभियानकारुपमा सन्चालन गर्दै आएको छ ।
प्रहरीे कारबाहीमा निर्दोष व्यक्ति पक्राउ गरी कैदीपुर्जी दिएको भन्दै केही पीडितहरु बन्दी प्रत्यक्षीकरणमार्फत् न्यायको पहलमा जुटेका छन् । रासस