
मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ ।
पहिलो चरणमा ७२० किमि सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकामा अहिलेसम्म ६८४ किमि सडकमा पाइप बिच्छ्याइएको छ ।
डेढ महिनामा ७२० किमिमै पाइप बिच्छ्याइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
यसैगरी, थोक वितरण प्रणालीको ७७ किमिमध्ये ६९ किमिमा पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिए ।
असार मसान्तसम्म पहिलो चरणको पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
पाइप बिच्छ्याइ सकिएका सडकमा कालोपत्रको काम पनि भइरहेको छ । ८ मिटर कम चौडाइका सडकमा निर्देशनालयले नै कालोपत्र गर्दैछ ।
८ मिटरमाथिका सडकमा सडक डिभिजन कार्यालयले कालोपत्र गर्ने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।
सडकका मुख्य चोकमा भल्भ च्याम्बर निर्माण भइरहेकाले कालोपत्र भएका सडकमा जेब्राक्रसिङ बनाउन नसकिएको निर्देशनालयले जनाएको छ ।
असार मसान्तसम्म निर्माणसँगै पैदलयात्रीका लागि जेब्राक्रसिङ पनि बनिसक्नेछ । रासस