दाङको शान्तिनगर गाउँपालिकाका दुई वडा झाडापखालाबाट पूर्णरुपमा प्रभावित भएका छन् । शनिबार बिहानदेखि फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । सोमबार बिहानयता १ सय ७७ जना बिरामी थपिएका छन् । अहिले पनि बिरामी आउने क्रम जारी छ ।
अहिलेसम्म १ हजार ३ सय २ जना बिरामी परेको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरी पुनले बताए ।
हरेक घरमा बिरामी भएपछि स्थानीय वीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कूल आइतबारदेखि बन्द गरिएको छ । झाडापखालाबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् । माइलीपानी खानेपानी आयोजनाको मुहानमा प्रदुषण भएपछि ३ र ४ नं. वडामा झाडापखाला फैलिएको हो ।
प्रदुषित पानीको मुहान बन्द गरी अहिले ट्यांकरबाट पानी बितरण गरिरहेको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए । धाराको पानी पिउनयोग्य नरहेको र नमूना परीक्षण गर्न पठाइएको उनले जानकारी दिए । पहिलेकै प्रदुषित पानीको प्रभाव अहिलेसम्म देखिएको डाँगीले बताए । मुहान र पाइपलाइन पूर्णरुपमा शुद्धिकरण नगरी धाराको पानी प्रयोग गर्न नमिल्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त प्रमुख तिलक न्यौपानेले बताए ।
स्थानीय स्वास्थ्य चौकी, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, तुलसीपुर सिटी अस्पताल, तुलसी बाल अस्पताल, सेनाको फिल्ड अस्पताल नेपालगञ्ज र १९ नं. बाहिनी तुलसीपुरको स्वास्थ्य टोलीले बिरामीको उपचार गरिरहेको छ । शरीरमा ब्याक्टेरिया प्रवेश गरेपछि निदान हुन समय लाग्ने भएकाले बिरामीको संख्या बढिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए । पानीमा कोलिफर्म ब्याक्टेरिया देखिएका कारण झाडापखाला फैलिएको उनले बताए । गाउँमा पानी शुद्धीकरण गर्ने औषधि बितरण गरेको र बिरामीहरुका लागि पनि आवश्यक औषधि पर्याप्त रहेको पोख्रेलले बताए। पानी लगायत झाडापखालाको बिस्तृत अध्ययन र परीक्षण गर्न स्वास्थ्य विभाग माहामारी तथा रोग नियन्त्रण महाशाखाबाट पनि बिज्ञ टोली आउन लागेको उनले बताए । कान्तिपुरमा समाचार छ ।