बाँकेको डुडुवामा एक सातादेखि पशु चौपायाहरुमा भ्यागुते रोगको महामारी

बाँकेको डुडुवा गाउँपालिकामा एक सातादेखि पशु चौपायाहरुमा भ्यागुते रोगको महामारी फैलिएको छ । उक्त पालिकाको वडा नम्बर २ बेतहनी र ४ कम्दीका किसानका चौपायामा महामारी फैलिएको हो ।
महामारीबाट ६ वटा पशुचौपाया मरेका छन् चने तीन सय बढी पशु चौपाया बिरामी परेका छन् ।
भ्याक्सिन नलगाईका बाहिरबाट खरिद गरी ल्याएका रोगी पशु मरेपछि गाउँ नजिकै महामारी फैलिएको गाउँपालिकाका पशु चिकित्सक अशोककुमार पाण्डेले जानकारी दिए । उनका अनुसार पशुहरुमा ज्वरो आउनु, मुखबाट र्‍याल बग्ने, घाँटी सुनिनेलगायत समस्यापछि मर्ने गरेका छन् । पशुहरुमा फैलिएको माहामारी रोगको उपचार सुरु गरिएको र नियन्त्रण उन्मुख रहेको पशु चिकित्सक पाण्डेको दाबी छ ।
भ्यागुते रोगविरुद्ध एक्सेप्ट, डेक्सोना र जीट नामक सुई दिएर उपचारको कार्य तीब्र पारिएको छ । पालिकाले सञ्चालन गरेको घरघरमा पशु स्वास्थ्य सेवा अभियानअन्तर्गत हाल चौपायाहरुको नि:शुल्क उपचार भइरहेको छ । महामारी नियन्त्रणका लागि छ पशु स्वास्थ्य प्राविधिक खटिएका छन् । कान्तिपुरमा समाचार छ ।