प्रदेश ४ को नाम गण्डकी र राजधानी पोखरा राख्न सिफारिस

प्रदेश ४ को नाम गण्डकी र राजधानी पोखरा राख्न सिफारिस गरेको छ। प्रदेशसभाद्वारा गठित समितिले सोमबार संसद्मा प्रतिवेदन पेस गर्दै प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्न सिफारीस गरेको हो।
सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिएपछि गण्डकी सिफारिस गरेको समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले संसदलाई जानकारी दिए । 
प्रदेशको नामबारे सुझाव जिल्लाहरुमा अन्तर्क्रिया गरेर, दलहरुसँग लिखित धारणा मागेको, विज्ञहरुको सल्लाह अनुरुप नै आफूहरूले सिफारिस गरेको बताए। सांसद थापाले साविक एमाले, कांग्रेस, जनमोर्चाले दिएको सुझावमा गण्डकीलाई प्राथमिकता क्रमको १ नम्बरमा राखिएको जानकारी दिए।
त्यस्तै ११ जिल्लामध्ये ८ वटाबाट पनि पहिलो नम्बरमा गण्डकीकै पक्षमा सुझाव आएको उनले उल्लेख गरे।
अन्तक्रियाहरुका सहभागीले दिएको मतका आधारमा गण्डकी पछिको क्रममा तमुवान, मगराँत नामकरणको पक्षमा मत देखिएको उनले जानकारी दिए। सांसद थापाका अनुसार समग्रमा उक्त नामका लागि २८ प्रतिशत सहभागीको सुझाव थियो। गोरखा, धौलागिरि, हिमाल, अन्नपूर्णलगाएतका नाम पनि सुझावका क्रममा आएका तर तिनीहरुको पक्षमा निकै झिनो प्रतिशत संख्या रहेको सांसद थापाले उल्लेख गरे।
पोखरा राजधानी हुनुपर्छ भनेर ९३ प्रतिशत सहभागीले सुझाव दिएका थिए। त्यसपछि गोरखा राजधारनीको पक्षमा ४ दशमवल अन्यका पक्षमा २ प्रतिशत मत परेको उनले बताए। दलहरु सबैले राजधानी पोखरा हुनुपर्ने सुझाव समितिलाई दिएका थिए।
चैत १२ गते प्रदेशसभाले प्रदेश राजधानी र नामांकन समिति गठन गरेको थियो। सुरूमा १ महिनाको म्याद पाएको समितिलाई पहिला १० दिन थपेर वैशाख २२ सम्म समय दिइएको थियो।
सबै सरोकारवालाको सुझाव नआइसकेको भन्दै समितिलाई फेरि १ महिना थपिएको थियो। जेठ २३ गते बुधबार त्यो म्याद सकिनुअघि समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको हो। सेतोपाटीमा समाचार छ ।