प्रधानमन्त्री केपी ओलीले अहिले तीनै तहका सरकारबीच विवाद नरहेको बताएका छन् । शनिबार प्रदेश १ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीच विवाद रहेको अफवाह फैलाउन लागेको भन्दै त्यसको बचाउ गरेका हुन् ।
‘यो देश एउटै छ, यो देशमा एउटै सरकार छ,’ प्रम ओलीले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच कुनै विवाद छैन् यसमा कसैलाई भ्रम छ भने आजैबाट त्यागे हुन्छ।’
पौने दुई घण्टा लामो भाषणको अधिकांश समय प्रदेश १ का विकासका सम्भावना बारे खर्चिएका प्रधानमन्त्री ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदलाई आग्रह गरेका छन्।
प्रदेश १ लाई प्रकृतिले समेत माया गरेकाले यसलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उनको जोड थियो। ‘सगरमाथासहित ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमाल र सबैभन्दा होचो स्थान समेत यँही प्रदेशमा छ,’ उनले भने, ‘यसलाई चिनौं देशलाई चिनौ र आफुलाई पनि चिनौं।’
प्रधानमन्त्री ओली भ्रष्टाचार आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै भ्रष्टाचर गर्नेलाई अनुहार हेरेका भरमा छुट नहुने बताए।
उनले भ्रष्टचारको विषयमा शून्य सहनशीलता अपनाउन कर्मचारी, प्रदेश सरकारलाई समेत आग्रह गरेका छन्। ‘हामी शासन गर्नका लागि नभइ सेवा, सुशासन र विकास गर्न आएका हौं यो कुरा सबैले बुझ्नु जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुन प्रदेश १ प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायीहरु समेत आएका थिए। प्रदेश सभा बैठकपछि प्रधानमन्त्री ओलीले यस क्षेत्रका उद्योगी व्यवसायीसंग छलफल गरेका छन्। प्रधानमन्त्री ओली शनिबार नै काठमाडौ फर्कदैछन्। कान्तिपुरमा समाचार छ ।