तेह्रथुमका १५ बस्ती पहिरोको उच्च जोखिममा

तेह्रथुम जिल्लाका १५ बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जोखिमयुक्त बस्तीका बासिन्दालाई जिल्ला दैवीप्रकोप उद्धार समितिले सतर्क रहन सूचना गरेको छ ।
साविकका नौ गाविसका १५ भन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । केही दिन देखिको निरन्तरको वर्षासँगै जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, प्रहरी लगायतका संस्थाले विपद् क्षेत्रको पहिचान गरी उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन सूचना गरेका हुन् ।
रेडक्रसको प्राविधिक सहितको टोलीले स्थलगत अध्ययन गरी यी क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले वर्षादको कुनै पनि समयमा पहिरो बग्न सक्ने र जनधनको क्षति हुने चेतावनी दिएको छ । 
रेडक्रसले जिल्लाभरका यस्ता बस्तीको स्थलगत अध्ययन गरी पहिरोलाई न्यून, मध्यम र उच्च गरी तीन भागमा वर्गीकरण गरेको सभापती श्रीकृष्ण दाहालले बताए । वर्षामा जमिन कमजोर हुने र पहिरोको जोखिम समेत बढ््ने भएकाले जोखिममा रहेका बस्तीसम्म पुगेर सचेतना र पूर्व तयारीका कार्यक्रम समेत सञ्चालन गरिरहेको जिल्ला दैवीप्रकोष उद्धार समितिका संयोजक प्रजिअ खनालले बताए । यी स्थानमा बारम्बार पहिरो गइरहने, भिरालो जमिन, अव्यवस्थित सडक निर्माण लगायतका कारणले गर्दा बाढीपहिरोको उच्च जोखिम देखिएको रेडक्रसले जनाएको छ । गत वर्ष असार १६ गते राति म्याङलुङ नगरपालिका ५ आमदेनमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो ।
पहिरोमा परी परिवारका अन्य तीन जना गम्भीर घाइते भएका थिए । रेडक्रसले जिल्लाका दुई नगरपालिका र चारवटै गाउँपालिकामा पुगेर बाढीपहिरोका साथै आगलागी, खडेरी, अनिकाल र भूकम्पका हिसाबले समेत उच्च जोखिममा रहेका बस्तीको पहिचान गरेको जनाएको छ । जिल्लामा विगतका वर्षमा भएका यस्ता प्राकृतिक विपदलाई आधार मानेर कुन स्थानीय तहको कुन बस्ती बढी जोखिममा छ भनेर पहिचान गरिएको रेडक्रसले जनाएको छ । स्थलगत अध्ययनपछि पहिचान भएका जोखिमयुक्त क्षेत्रका बस्तीसहितको नामावली जिल्ला दैवीप्रकोप उद्धार समितिमा बुझाइएको रेडक्रसले जनाएको छ ।
बाढीपहिरोको उच्च जोखिम पहिचान भएका वसन्तपुर, आङदीम, आम्वुङ, ईसिवु, जिरीखिम्ती, खाम्लालुङ, ओयाक्जुङ, फुलेक र सुङनाम क्षेत्रका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । जोखिम बढी भएका बस्तीका बासिन्दालाई चनाखो भएर बस्न र वर्षादको समयमा सतर्क रहन सूचना गरिएको समिति संयोजक प्रजिअ खनालले बताए । विपद् व्यवस्थापनका लागि प्रतिकार योजनासमेत बनाएर काम गरिरहेको प्रशासनले जनाएको छ । त्यस्तै स्थानीय तहमा समेत विपद् व्यवस्थापन समिति गठन गर्न भनिएको र स्थानीय तह समेतको सहकार्यमा जिल्लाभर जोखिम न्यूनीकरण र जोखिमबाट बज्ने उपायका कार्यक्रमहरू सञ्चालन गरिरहेको प्रशासनले जनाएको छ । 
स्थानीय तहमा विपद् व्यवस्थापन ऐन नहुँदा समस्या भएको प्रजिअ खनालले बताए । ‘ऐन अभावमा कतिपय स्थानीय तहले आफैं ऐन बनाएर भए पनि काम गरिरहेका छन्,’ उनले भने । कान्तिपुरमा समाचार छ ।