पोखरा लेखनाथ महानगरको नाम हटाउने प्रस्ताव पास, अब पोखरा महानगरपालिका

तस्बिरः रासस
पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले महानगरको नाम हटाउने प्रस्ताव सर्वसहमतिले पास गरेको छ।
पोखरा लेखनाथ महानगरपालिका नामबाट लेखनाथ शब्द हटाउन सर्वसहमतिले पास गरेको हो । वडा नम्बर १९ का अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका सचेतक शोभामोहन पौडेलले सोमबार नाम फेर्ने प्रस्ताव पेस गरेका थिए भने प्रस्तावलाई वडा नम्बर ९ का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए । 
प्रस्ताव माथि नगर सभामा मंगलबार छलफल भएको थियो। ४० भन्दा बढी सदस्यहरूले नामका बारेमा छलफलमा भाग लिएका थिए । स्थानीय तहको नाम हेरफेर गर्न कार्यपालिकाको २/३ मतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । कार्यपालिकाले पारित गरेको प्रस्ताव प्रदेश सरकारलाई पठाएपछि  प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले सदर गरेपछिमात्रै नाम हेरफेर हुन्छ ।
२०७३ साल फागुनमा पोखरा उपहानगरपालिका र लेखनाथ नगरपालिकालाई मिलाएर राज्य पुनःसंरचना आयोगले पोखरा लेखनाथ महानगरपालिका बनाएको थियो । पोखरा अन्तर्राष्ट्रिय ख्याति प्राप्त नाम हुँदाहुँदै लेखनाथको फुर्को जोडेर अनावश्यक रूपमा लामो र झन्झटिलो नाम राखिएको भन्दै सुरूदेखि नै विरोध हुँदै आएको थियो ।
त्यसैगरी, नगरसभाले महानगरको आर्थिक वर्ष २०७५/७६ बजेट पारित गर्दै सभा सम्पन्न भएको छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले ६ अर्ब ५३ करोडको बजेट पेस गरेका थिए ।