सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको मानहानी गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने भएकोले त्यस्ता गतिविधिमा संलग्न नहुन महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ।
केही समयदेखि सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिको इज्जत प्रतिष्ठामा आँच पुर्याउने गतिविधि बढ्दै गएकोले महानगरीय अपराध महाशाखाले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।
‘अपरिचित व्यक्तिहरूले पठाएको फ्रेण्ड रिक्विष्ट एसेप्ट गर्ने फेसबुक, ट्वीटर, भाइबर, इस्टाग्राम लगायतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्याउने, अश्लिल भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएको छ’, महाशाखाले जारी गरेको सूचनामा भनिएको छ,‘ सामाजिक संजालको दुरुपयोग गरी विद्युतीय स्वरूपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ।’ सेतोपाटीमा समाचार छ ।