कांग्रेसद्दारा संसद नै छाडेर सडक संघर्ष गर्नेसम्मको चेतावनी
आषाढ़ २१ गते, २०७५ मा प्रकाशित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफू नेतृत्व सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयप्रति कडा आपत्ति जनाएको छ ।
यो घटनाले ‘सरकार अधिनायकवादतर्फउन्मुख छ भन्ने पुष्टि भएको’ भन्दै कांग्रेसले अब संसद र सडक संघर्षलाई चर्काउने र परिआए संसद नै छाडेर संघर्षमा जानेसम्मको चेतावनी दिएको छ ।
बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ देखि फागुनसम्म गरेका सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि विपक्षी कांग्रेस सरकारप्रति क्रूद्ध बनेको हो ।
प्रदेशप्रमुखसहितका सबै राजनीतिक नियुक्ति एकै निर्णयबाट खारेज भएपछि कांग्रेसले वर्तमान सरकार संघीयतालाईसमेत मास्ने अभियानमा लागेको आरोप लगाएको छ ।
‘प्रदेशप्रमुख हटाउनुले सरकार प्रदेश संरचना नै खारेज गर्न चाहन्छ भन्ने देखिएको’ भन्दै कांग्रेसले ‘सबै क्षेत्रमा कब्जा गरेर कम्युनिस्ट नेतृत्वको सरकार अधिनायवाद लाद्न चाहन्छ भन्ने प्रस्ट भएको’ ठहर गरेको छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइराला सरकार अधिनायवादतर्फ छ भन्ने कांग्रेसको आरोप मन्त्रिपरिषदको निर्णयबाट पुष्टि भएको बताउँछन् ।
वर्तमान सरकार पनि नेपाल सरकारकै हिजोको निरन्तरता भएको भन्दै उनले अघिल्ला सरकारले गरेका निर्णय उल्ट्याउँदै जाँदा मुलुक दुर्घटनामा जानसक्ने बताउँछन् ।
सरकारको निर्णयले नेपाली जनताको अधिकार र लोकतन्त्रमाथि नै प्रश्न उठेकाले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने उनको धारणा छ ।
देउवा नेतृत्वको सरकारले सात प्रदेशमा सात प्रदेशप्रमुखसहित एक दर्जन बढी निकायमा राजनीतिक नियुक्ति गरेको थियो ।
कांग्रेस महामन्त्री कोइराला राज्य सन्चालनका लागि अघिल्लो सरकारले संविधानतः गरेका नियुक्ति खारेज गर्नुको कारण सरकारले पुष्टि गर्न नसक्ने दाबी गर्छन् ।
न्यायालय, सरकारी संयन्त्र, स्वतन्त्रताका आधारस्तम्भ सबैमा हस्तक्षेप गरेर सरकारले आफ्नो असलीरुप देखाएको भन्दै उनले कांग्रेसले अब सडक र सदनमा संघर्षका कार्यक्रम थाल्ने बताए ।
आफूहरुको विरोधलाई सरकारले नसुने लोकतन्त्र रक्षाका लागि कांग्रेस परिआए संसद छाडेर पनि संघर्षमा उत्रने चेतावनी उनले दिए । इमेजखबरमा समाचार छ ।