डाक्टर केसीका माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी

नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउन बाध्य हुने चेतावनी सरकारलाई दिएको छ।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरू बाध्य हुने चेतावनी दिएका हुन्।
उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य बाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पारे।
अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्चस्तरीय समिति तत्काल बनाउन माग गरिएको पनि जानकारी दिए।
संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन विगत ३ दिनयता हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ। अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि स्पष्ट पारे। सेतोपाटीमा समाचार छ ।