प्रमुख प्रतिपक्षी कांग्रेसले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने

news
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ ।
सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन पनि चल्न नदिने निर्णय गरेको हो ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा बसेको कांग्रेस पदाधिकारीसहितका नेताहरुको बैठकले जुम्लामा आमरण अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको हो ।
डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय पनि भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस्तै, प्रतिपक्षी दल कांग्रेसले संविधानअनुसार संघीय संसद र प्रदेश संसदमा सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने संवैधानिक व्यवस्थालाई जोडतोडका साथ उठाउने प्रवक्ता शर्माले जानकारी दिए ।
अहिले संघीय संसद र प्रदेश संसदमा सभामुख र उपसभामुख एउटै पार्टीका छन् ।
विधान मस्यौदा समिति गठन हुने
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समिति गठनका लागि सदस्यहरुको नाम दिने भएपछि कांग्रेसको विधान मस्यौदा समिति गठन हुने भएको छ ।
बुधबार सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई शीर्ष नेताहरुको छलफलमा नेता पौडेलले बिहीबार (भोलि)सम्म नाम दिने सहमति गरेकोे प्रवक्ता शर्माले जानकारी दिए ।
बिहीबार साँझसम्म विधान मस्यौदा समिति गठन भए समितिले ३५ देखि ४५ दिनभित्र मस्यौदा तयार गरिसक्ने जनाइएको छ ।
प्रवक्ता शर्माकाअनुसार विधान मस्यौदा समिति ९ देखि ११ सदस्सीय बन्ने सम्भावना छ ।  इमेजखबरमा समाचार छ ।