जुम्लामा २० दिनदेखि अनशनरत् डा. गोविन्द केसीलाई काठमाडौं लैजान सरकारले हेलिकोप्टर पठाएपनि उनी जान नमानेपछि सरकारले बल प्रयोग गरेको छ ।
डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नजाने बताएपछि बिहीबार सरकारले बल प्रयोग गरेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले अस्पतालको गेटमा तालाबन्दी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
अपहरणको शैलीमा डा. केसीलाई काठमाडौं लैजान खोजिएको भन्दै विरोधमा उत्रेकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरी हस्तक्षेपबाट प्रतिष्ठानका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहित दुई दर्जनबढी घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर रहेको छ । केही प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीले चलाएको गोली लागी एकजना प्रहरी नै घाइते भएका छन् ।
विरोधका कारण डा. केसीलाई काठमाडौं लैजान आएको टोली अस्पताल प्रवेश गर्न सकेको थिएन ।
स्थानीय जनताले पनि डा. केसीको पक्षमा अस्पतालबाहिर विरोध प्रदर्शन गरेका थिए ।
प्रहरी आक्रमणमा प्रतिष्ठानका सिसा फोडिनुका साथै एक करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
डा. केसीले सरकार बर्बर दमनमा उत्रेको र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै आफू काठमाडौं जान तयार रहेको बताएका छन् । इमेजखबरमा समाचार छ ।
डा. केसीलाई काठमाडौं ल्याइयो
जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारले अन्तत: बल प्रयोग गरी काठमाडौं ल्याइएको छ ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच डा. केसीलाई अस्पतालबाट बाहिर निकाल्न लाग्दा स्थानीय महिलाहरुले अवरोध गरेपछि प्रहरीले पुन: लाठी चार्ज गरेको थियो। अस्पताल भित्र र बाहिर प्रहरीले गरेको लाठी चार्ज पछि जुम्लाको अवस्था पुन: तनाव ग्रस्त बनेको छ।