धादिङमा दुईजनाको हत्या आरोपमा ३१ जना पक्राउ

news
दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२, लतावबाट मंगलबार ३१ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ ।
गाउँवासीको कुटपिटबाट दुईजनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान नदिइएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
घटनामा गंगाजमुना गाउँपालिका–२, लतावका ६५ वर्षीय साहिँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो ।
गाउँमा मृत्यु भएका केही व्यक्ति आफूले मन्त्र गरेर मारेको, गाईवस्तुलाईसमेत मन्त्र गर्ने गरेको र झाँक्री मन्त्रबाट मानिसलाई बच्चा पाउने/नपाउनेसमेत बनाउनसक्ने भन्दै गाउँवासीलाई तर्साएपछि सिंहबहादुर तामाङका घरमा किरिया समापनको कार्यक्रम हुँदैगर्दा उनीहरुमाथि कुटपिट गरिएको थियो ।
गत असार ५ गते कुटपिट गरी गाउँमै बाँधेर राखिएका दुवैजनालाई गाउँवासीले असार ६ गते गाउँवासीसँग छलफल आयोजना गरी पुनः कुटपिट गरिएको थियो ।
घटनापछि दुवैको मृत्यु भएको र मृत्युपछि गाउँवासी मिलेर गाउँमा अन्य गाउँको मानिस आउन प्रतिबन्ध लगाइ मृतकलाई डाँडामा लगेर जलाएका थिए ।
जलाइएको ठाउँमा प्रहरीले अनुसन्धान गर्दा अँगार र केही हाड बरामद गरेको छ ।
साहिँला झाँक्री काम गर्दैआएका व्यक्ति तथा नरुङ झाँक्रीको सहयोगी थिए ।
हिरासतमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ । घटनामा छानबिनपछि संलग्न नभएकालाई छाडिने प्रहरी नायब उपरीक्षक केसीले बताए । रासस