आगामी तीन दिन देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह

Image result for देशैभर वर्षा
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्णबदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो ।
शनिबार दिउँसो देशभर समान्यदेखि पूर्णबदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।
रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । साथै, पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आइतबार दिउँसो र रातको दुवै समयमा देशभर सामान्यदेखि पूर्णबदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
असार १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनुका साथै एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बदलीसहित वर्षा भइरहेको छ । काठमाडौंका कतिपय स्थानमा भारी वर्षा भएको छ ।
यद्यपि, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौंमा ३.५ मिलिमिटर वर्षा भएको छ ।
ताप्लेजुङ र ओखलढुंगामा ६, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगन्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको अधिकतम् तापक्रम २९.५ र न्यूनतम् तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।
नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 
निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै नदीमा बहाब खतराभन्दामाथि रहनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
शनिबार देशका प्रमुख नदी कन्काई, कोसी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतराभन्दामाथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दोक्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतराभन्दा तलै हुने तथा पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउनसक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ ।
शनिबार, आइतबार र सोमबार खासगरी पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ ।
पहिरो जानसक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । रासस