लगातारको वर्षापछि कञ्चनपुरको माहाकाली नगरपालिका–१० का विभिन्न टोलहरुमा बाढी पस्ने खतरा बढेको छ । यस्तै महाकाली नदीमा पानीको बहाव बढेसँगै बनबसा पुलमा चार पांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।
आइतबार ११ बजेदेखि पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार १२ बजेको मापन अनुसार नदीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक पुगेको छ। भारतिय पक्षले नदीमा पानीको बहाव १ लाख नाघ्ने बितिक्कै जोखिम हुन सक्ने भन्दै ठुला सवारी साधनको आवागमनमा रोक लगाउँदै आएको छ।
महाकाली नदीमा आएको बाढीले जोगबुढा र अन्य स–साना नालाहरुको बहाव रोकिँदा नदी किनारका बस्तीहरु बाढीको जोखिममा परेका हुन्।
दुई नदीको दोभानका बस्तीमा बाढी पस्न थालेको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए। उनका अनुसार वडा नं. १० का महाकाली र जोगबुढाको दोभान कुतियाकवर, शान्ति टोल, गुरुंग टोल र गिरी टोल बाढीको जोखिममा छन्। उनले शान्ति टोलमा एक घरभित्र पानी पसेपछि उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए। कान्तिपुरमा समाचार छ ।